दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

admin

काठमाडौं, फागुन २१ : तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए पनि कारबाही गर्ने विषयमा अन्योल बढेको छ । दाल प्याक गरिएको बोरामा उत्पादन मिति र उपभोग अवधि परिवर्तन गरिएको लेबल टाँसेको पाइएपछि कारबाहीको आधारका विषयमा अन्योल देखिएको हो ।

संयुक्त बजार अनुगमन समितिले विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको दाल गोदाममा गत फागुन १२ गते नै सिलबन्दी गरेको थियो । शिलबन्दीसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले तीन लाख रुपियाँ जरिवानासमेत भराएको थियो । विदेशी निर्यातकर्ता ईटीजीमार्फत ५० लाख रुपियाँको ४८ टन दाल आयात गरेको जैसानीले गत मङ्सिर १७ गते भन्सार जाँचपासपछि दाल नेपाल भित्रिएको हो ।

ईटीजीले दाल निर्यात गर्दा गाफ्ता (टे«ड फिड बीमा प्रमाणपत्र, अनाज र फिड ट्रेड) प्रमाणपत्रसहित जैसानीलाई पठाएको थिया । आयातकर्ता जैसानीलाई समेत खाद्य प्रयोगशाला, क्वारेन्टाइन र खाद्य आयात–निर्यात प्रमाणीकरण कार्यालयले  ।चारित्रिक गुणस्तर अनुरूप अनुकूल पाइएको’ भनेर स्वीकृति प्रदान गरिदिएको छ ।

तर जैसानीले आयात गरेको ४८ टनमध्ये गोदाममा फेला परेको ४० टन दाल प्याकेजिङ गरिएको दुई हजार सात सय बोराको बाहिरी भागमा दुईवटा लेबल भेटिएको छ । उत्पादक कम्पनीले बोरामै प्रिन्ट गरेको लेबलमा सन् २०१३ मा उत्पादन भई २०१५ सम्ममा दाल उपभोग गर्ने अवधि लेखिएको छ ।

बोरामा भएको त्यो प्रिन्टलाई छोप्ने अर्को लेबलमा भने सन् २०२० मा उत्पादन भई २०२२ मा उपभोग्य मिति उल्लेख गरिएको फेला परेको छ । खुद्रा बिक्रेता हुँदै आयातकर्तासम्म पुगेर गोदाम सिलबन्दी गरिएपछि दुई निकायबीच कारबाही बढाउने विषयमा भने अन्योल देखा परेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।

प्रतिक्रिया