दाहालका राजनीतिक गुरुको निधन : श्रद्धाञ्जली अर्पण गर्दै दाहाल भन्छन्, अझै शक्तिका साथ लड्छौँ !

राष्ट्रिय समाचार समिति

चितवन, १३ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

पार्टी एकताका लागि उनीहरू जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरूलाई प्राप्त भएको बताउँदै दाहालले भने, ‘अहिले जो दुर्घटना जस्तो स्थिति देखा परेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैँ प्रेरणाका रूपमा आन्दोलनमा रहिरहन्छन् ।’

अहिले नेपालका कम्युनिस्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उनले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिमा बदल्ने प्रतिबद्धता व्यक्त गरे । दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन चौम पार्टीको सदस्यता लिएको बताए ।

सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उनको ठूलो योगदान रहेको जनाउँदै दाहालले भने, ‘कम्युनिस्ट आन्दोलनका अभिभावकका रूपमा र आफ्नै अभिभावकका रूपमा मेरो जीवनमा उहाँको योगदानका कारणले म अहिले यो ठाउँमा आइपुगेको हुँ ।’

यसअघि अध्यक्ष दाहाल र माधवकुमार नेपालद्वारा संयुक्त रूपमा जारी गरिएको शोक वक्तव्य वाचन गरिएको थियो । अध्यक्ष दाहाल कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ प्रस्थान गरेका थिए । अध्यक्ष दाहाल गृह जिल्ला आउँदा सधैँजसो कुँवरलाई भेट्ने गर्दथ्ये ।

कुँवरको मंगलबार नै देवघाटमा अन्त्येष्टि गरिंँदै छ । विसं १९८४ बैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिएका कुँवरको मंगलबार बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आएका थिए ।

प्रतिक्रिया