दुई अध्यक्षबीच वार्ता पातलियाे

admin

काठमाडौं, २६ साउन :सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको छैन ।

केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित भएको थियो । बिहीबारका लागि वार्ता तय भए पनि चार नेताको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै वार्ता स्थगित गर्नुभएको थियो ।

दुई अध्यक्षबीच पुनः वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, जनार्दन शर्मालगायतका नेता लागे पनि दुवै अध्यक्षले आ–आफ्नो अडान राख्दा सम्भव हुन नसकेको एक नेताले बताउनुभयो । डेढ महिनाअघिबाट शुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । विवाद समाधानको लागि ओली र प्रचण्डबीच भएको दर्जनभन्दा बढी वार्तामा पनि सहमतिको विन्दु फेला पर्न सकिरहेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदको लडाइँ भएको आरोप लगाउँदै आउनुभएको छ भने प्रचण्डसहितका शीर्ष नेताहरुले पार्टीलाई विधि र पद्दतीमा अगाडि बढाउने संघर्ष भएको दाबी गर्दै आएका छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छ भने ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राख्दा जारी विवादको समाधान हुन सकेको छैन ।

दुवै पक्षले आ–आफ्नो अडान राखेपछि ओलीको मनासायअनुसार नै उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे सहमतिको खाका अगाडि ल्याए पनि पार्टीभित्र छलफल हुन सकेको छैन ।

जारी विवादको समाधान दुई अध्यक्षबाट हुन नसकेपछि प्रचण्डले जारी स्थायी समिति बैठक तत्काल राखेर निकास दिनुपर्ने अडानमा रहनुभएको छ भने अध्यक्ष ओलीले स्थायी समिति बैठक नभई सचिवालयबाटै निकास खोज्नुपर्ने अडानमा रहनुभएको छ ।


स्थायी समिति बैठक बोलाउने कि सचिवालय बैठक बोलाउने भन्ने विषयमा अध्यक्षद्वयबीच कुरा मिल्न सकेको छैन । उपाध्यक्ष गौतमको साथ पाउने विश्वासको साथ ओलीले आफ्नो पक्षमा बहुमत हुने भएकाले सचिवालय बैठकबाटै निकास दिनुपर्ने अडान पछिल्लो समय राख्दै आउनुभएको छ ।

उपाध्यक्ष गौतमले अगाडि सारेको छबुँदे सहमतिको खाकामा अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी दिने उल्लेख गरिएको छ ।

तर पछिल्लो चरण वरिष्ठ नेताद्वय खनाल र नेपालसँग मिलेर आफ्नोविरुद्ध मोर्चाबन्दी गरेको भन्दै ओलीले प्रचण्डलाई कार्यकारी अधिकार पनि दिन अस्वीकार गरे पनि विवाद गहिरिँदै गएको छ । जारी विवादमा सहमति जुट्न नसकेपछि ओलीले बालुवाटारमा र प्रचण्डले खुमलटारमा आ–आफ्नो रणनीति बनाउने काममा जुटेका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जारी विवाद पद प्राप्तिका लागि मात्र नभई पार्टीलाई विधि र पद्दतीमा अगाडि बढाउन भएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीलाई थप सदृढ एकता बनाएर अगाडि बढाउनका लागि अहिले विवाद देखिएको हो, पार्टीको निर्णय नै अन्तिम सत्य हो, पार्टीले गरेको निर्णय मानेर अगाडि बढ्नुको विकल्प छैन ।’

पार्टी विभाजन नगर्न ६१ सांसदको अपील
पार्टीभित्रको आन्तरिक विवादले पार्टी फुट्ने दिशामा गएको भन्दै नेकपाका सांसदहरूले एकता जोगाउन अपिल गरेका छन् । ६१ सांसदले हस्ताक्षरसहित पार्टीलाई विग्रहको बाटोमा जानबाट रोक्न मुख्य नेतृत्वलाई अपिल गरेका हुन् ।

आइतबार दिउँसो तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन नगर्न आग्रह गरिएको छ । ठूलो पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक भएको बताउँदै सांसद श्यामकुमार श्रेष्ठले आफूहरु कहीँकतै नजाने भएकाले हस्ताक्षर गरेको बताउनुभयो ।

सांसद तथा नेकपा केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीले पछिल्लो समय नेकपाभित्र केही असामान्य परिस्थिति सिर्जना हुँदा छलफलका लागि बैठक बस्ने वातावरण पनि नबन्नु विडम्बना भएको बताउनुभयो ।

शीर्ष नेताका अभिव्यक्ति र गतिविधिका कारण जनता र कार्यकर्तामै पार्टीप्रति वितृष्णा जागेको एकताका पक्षधर सांसदको निष्कर्ष रहेको छ । अपीलमा समाजवादी अर्थतन्त्र निर्माण गर्ने बाटोमा जानुपर्ने बेला एकता पूरा नहुँदै विग्रहतर्फ जान लागेकाले शीर्ष नेतालाई गम्भीर भएर सोच्न आग्रह गरिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया