दुई घर बगे, सयौँ जोखिममा

राष्ट्रिय समाचार समिति

सिन्धुली, ८ साउन: अविरल वर्षापछि दूधौली नगरपालिका–१४ मा बाढीले घर बगाएको छ । स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो । बाढीले तामाङको घर गोठसँगै पसल र घरका सामान भाँडाकुडा, लत्ताकपडासमेत बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

तामाङको बाढीबाट रु ३२ लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । घर बाढीले बगाएपछि तामाङका चार जनाको परिवारलाई स्थानीय लक्ष्मण कटुवालको घरमा राखिएको प्रहरीले जनाएको छ । यस्तै निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण सोही ठाउँमा धेरैका घरगोठ जोखिममा पर्नुका साथै खेतीयोग्य जग्गा बगाएको प्रहरीले जनाएको छ । जिल्लामा अहिलेसम्म ११३ घरपरिवार सबैभन्दा बढी बाढीपहिरोको उच्च जोखिममा रहेका उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

बाढीपहिरोका कारण घर उच्च जोखिमा पर्नेको सङ्ख्या थपिँदै गएको र अहिलेसम्म पूरै विवरण आइनसकेको उहाँले बताउनुभयो । अहिलेसम्म प्राप्त जानकारीका आधारमा ७० घर पूर्णरुपमा क्षति भएका र ६२२ घरमा आंशिक क्षति पुगेको बताइएको छ । सिन्धुलीमा यसवर्ष बाढीपहिरोका कारण पाँचको ज्यान गएको, तीन जना अझै बेपत्ता रहेका र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया