दुई दलबीच झडप,नौ जना घाइते

राष्ट्रिय समाचार समिति

धनुषा, १४ कात्तिक: धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन् ।

फाइल फोटो

क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार काङ्ग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमपश्चात् समाजवादी पार्टी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको हो । कार्यक्रमपश्चात् टेन्टको सामान ओसारपसार गर्ने क्रममा सामान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा नौ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ ।

कार्यक्रमको लागि लगाइएको टेन्टको सामान पु¥याउने क्रममा भएको झडपमा रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव, अमरेशकुमार यादव, श्याम यादव, उमेश यादव, सन्तोष यादवलगायतका व्यक्ति घाइते भएका छन् । झडपमा परी घाइते भएकाको रमदैयास्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइते स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किसकेका छन् । इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहालले कुनै पक्षका अहिलेसम्म उजुरी नपरेको बताउनुभयो ।

प्रतिक्रिया