दुई वडाबीच टुट्यो सम्पर्क

राष्ट्रिय समाचार समिति

खलङ्गा, २१ साउन: जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने पुल तिला नदीको बाढीले बगाएपछि यहाँका वडावासीबीच सम्पर्क टुटेको छ । अविरल वर्षाका कारण तिला नदीमा पानीको बहाव बढ्दै गएपछि पुल नदीले बगाएको हो ।

एक दशक पहिले काठले निर्माण गरिएको पुल जीर्ण बन्दै गएको थियो । पानीले पुल भत्काएपछि वडा नम्बर ४ र ५ का नागरिकबीच सम्पर्क टुटेको हो । पुल भत्किएपछि वडा नम्बर ४ मा अध्ययन गर्ने विद्यार्थी र काम विशेषले वारपार गर्ने नागरिकलाई समस्या भएको स्थानीय प्रेमराज पाण्डेले बताउनुभयो । प्रमुख जिल्ला अधिकार दुर्गा बञ्जाडेले पुल भत्किएको क्षेत्रमा नागरिकको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले स्थलगत अवलोकनपछि वैकल्पिक उपायको खोजी गरेर समस्या समाधानको पहल गरिने बताउनुभयो । वडा नम्बर ४ का अध्यक्ष धीरज जैशीका अनुसार एक्कासि आएको पानीका कारण सम्पर्क नै टुटेकाले वैकल्पिक उपाय खोजिने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले पनि जुम्लामा वर्षाको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया