दुई स्थानीय तह आफ्नै भवनमा

शर्मिला गुरुङ

खलङ्गा, ८ चैत : यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएका जुम्ला जिल्लाका दुई वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन शुरु गरेका छन् ।

साठी वडासहित आठ स्थानीय तहका ६८ वटा सरकारी कार्यालयमध्ये तिला गाउँपालिका– ४ र तातोपानी गाउँपालिका– ४ नं वडा कार्यालय आफ्नै भवनमा सरेका हुन् । जिल्लाका अन्य वडा तथा पालिका कार्यालय भवन निर्माणको कुनै सुरसारनै छैन ।

भाडाकै घरबाट सञ्चालन भइरहेका अधिकांश वडा कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नै नभेटिने समस्या छ । तर यि दुई वडा कार्यालयका नमूना भवनबाट सेवा सञ्चालन भएपछि नागरिक, जनप्रतिनिधि र कर्मचारी सबै दङ्ग देखिन्छन् । वडाले आफ्नै भवनबाट सेवा शुरु गरेपछि भाडाको कार्यालयमा झै कर्मचारी र जनप्रतिनिधिलाई खोज्दै हिँड्न नपर्ने तिला– ४ का नन्दबहादुर शाहीले बताउनुभयो ।

अर्का स्थानीयवासी भद्रवीर सार्कीले गाउँपालिकाभर आफूले यसअघि यस्तो भवन नदेखेको भन्दै अत्याधुनिक सेवा सहितको भवनबाट सेवा लिँदा अचम्म लागेको सुनाए । तिला–४ को वडाभवन उद्घाटन गर्दै समन्वय समिति प्रमुख लालबहादुर सार्कीले नमूना भवनबाट नागरिकलाई गुणस्तरीय सेवा दिन कर्मचारीलाई सुझाव दिए ।

वडा भवन नेपाल सरकारको समन्वयमा सञ्चालित सामुदायिक विकास कार्यक्रमको रु एक करोड ९५ लाख ७८ हजार र गाउँपालिकाको रु तीन लाख ७० हजारको लागतमा निर्माण भएको हो । १४ कोठाको भवन भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री छ । निर्माणकार्य सबै उपभोक्ता समितिमार्फत भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालका अनुसार अन्य वडा तथा सरकारी भवन यही शैलीमा निर्माण गर्ने तयारी छ । गाउँपालिका अध्यक्ष रतननाथ योगीले भवन संरचना मात्रै नमूना नभइ गुणस्तरीय सेवा प्रवाहमा पनि नमूना हुने तर्क गरे । भवन हेर्दा जतिकै आकर्षक र सहज देखिन्छ त्यसको सुरक्षामा पनि त्यत्तिकै चुनौती देखिएको उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । रासस

प्रतिक्रिया