दुर्गम गाउँको घरघरमा खानेपानी धारा

कृष्ण रोकाया

म्याग्दी, १८ फागुन : म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमापर्ने मालिका गाउँपालिका– ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुविधा पुगेको छ ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बन्दरमूल खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेर स्थानीयवासीलाई निजी धारामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो ।
रु ६५ लाखको लागतमा निर्माण भएको आयोजनाबाट सिस्नेरी र खवाङका ५३ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले जानकारी दिनुभयो । विसं २०७४ माघदेखि शुरु भएको आयोजना निर्माणकार्य शुक्रबार सकिएको छ ।

कुवा, पधेँरा र खोल्साको दूषित पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरमै नियमित खानेपानी उपलब्ध भएपछि खुशी भएका छन् । स्थानीय एउटा सामुदायिक विद्यालयमा पनि बालमैत्री सार्वजनिक धारा निर्माण गरिएको छ ।

दन्दुर, तल्लो दुन्दुर र महखोलाको मुहानको पानीबाट आयोजना सञ्चालन गरिएको छ । गाउँपालिका, नेपाल र फिनल्याण्ड सरकारले रु ४५ लाख अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि उपभोक्ताले रु २० लाख बराबरको श्रमदान गरेको अध्यक्ष सुनारले बताउनुभयो ।

सो खानेपानी आयोजना निर्माणका लागि एक घरले ११० दिनका दरले श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकट, यातायातको असुविधा र ढुवानीको समस्याको बाबजुत पनि निर्धारित समयमै खानेपानी आयोजना निर्माण गरिएको अध्यक्ष सुनारले बताउनुभयो । रासस

प्रतिक्रिया