दुर्घटनामा पत्रकारको मृत्यु

शर्मिला गुरुङ

काठमाडौँ, ३२ साउन : रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा आज एक पत्रकारको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्व–पश्चिम राजमार्गमा बा१६प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपाल रुपन्देही तथा बुटवल टुडेका संवाददाता ४२ वर्षीय डायल्सन अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

प्रहरीका अनुसार उछिन्ने क्रममा अनियन्त्रित भई पार्किङ गरी राखिएको स११ प ४६२९ नम्बरको स्कुटीमा ठक्कर लागेर स्कारपियो पल्टिएको हो । सुमो मोटरमा सवार रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष ५२ वर्षीय झविन्द्रप्रसाद कँडेल (जेपी कँडेल), तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष ४६ वर्षीय रामनाथ पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष ४६ वर्षीय सोहन चौधरी थारू र चालक रुपन्देही सियारी गाउँपालिका ५ का ३६ वर्षीय अशोक भण्डारी घाइते भएका छन् ।

कँडेलको बायाँ हात र अनुहारमा, पाण्डेको टाउकोमा, थारुको टाउको र अनुहारमा र चालक भण्डारीको अनुहारमा चोट लागेको छ । घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । घाइतेमध्ये चालक भण्डारी गम्भीर रहेको उहाँले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया