दुर्घटना न्यूनीकरणका लागि पृथ्वीराजर्मागमा खतराको पहिचान

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १४ असोज  : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको कोत्रेदेखि मुग्लिङखण्डको प्रमुख समस्याको रुपमा रहेको खतरा पहिचान गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति तनहुँको बैठकले कोत्रेदेखि मुग्लिङसम्मको ७२ किमि मूल राजमार्गमा प्रमुखरुपमा देखिने समस्या तथा खतरा पहिचान गरेको हो ।

पृथ्वी राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि खतरा पहिचान गरी समस्याको समाधान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । प्रजिअ पण्डितका अनुसार सडकको बीचबीचमा रहेका खाल्डाखुल्डी समय–समयमा मर्मत नहुँदा गाडी दुर्घटना हुने र गाडी फसेर सडक अवरोध हुने गरेको छ ।

सडकस्वरुप सिधा नभई घुम्ती भएको, सडक सङ्केत, घुम्तीमा रहेका ठूला–ठूला रुख, घाँसको कारणले घुम्तीमा विपरीत दिशाबाट आएका सवारीसाधन नदेखिने कारणले सवारी साधन एकापसमा जुध्न गई दुर्घटना हुने खतरा राजमार्गमा देखिएको छ । विभिन्न समूहबाट आफ्ना माग पूरा गर्न दबाबस्वरुप गरिने अवरोध, बन्द, हडताल, चक्काजाम, राजमार्गसँग जोडिएका घडेरी खार्ने, शाखाको पहुँचमार्ग निर्माण गर्ने, राजमार्ग अवरोध हुने गरी सडक नजिक निर्माण सामग्री भण्डारण गर्ने, अव्यवस्थित पार्किङ र ट्राफिक नियमको उल्लङ्घनलाई राजमार्गको समस्याको रुपमा पहिचान गरिएको छ ।

जिल्लामा बढ्दै गइरहेको सडक दुर्घटनालाई कम गर्न गति सीमित गर्न लगाउने, सडकका घुम्ती तथा मोडमा सन्देशमूलक समाचार टाँस गर्ने व्यवस्था मिलाउन सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको प्रजिअ पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार घाँसीकुवादेखि डुम्रेसम्मको दायाँबायाँ घाँस र रुखका हाँगा काट्ने, पुलको बीच मागमा सवारी साधन रोक्न निषेध गर्ने र उछिन्न निषेध गर्ने व्यवस्था मिलाउन सडक डिभिजनलाई र राजमार्गमा पर्ने सबै स्थानीय तहहरुलाई राजमार्गको क्षेत्रभित्र राखिएका अवैध घर, टहरा, पसल हटाउन अनुरोध गरिएको छ ।

सडक तथा सडक पेटीमा आवातजावतमा समस्या हुने गरी अव्यवस्थित रुपमा थुपारिएका निर्माण सामग्री, फुटपाथका पसल, सडकमा गरिएको पार्किङ, पसलको कोठा बाहिर राखिएका सामग्री तथा अन्य सामानहरुको अवरोध हटाउन प्रहरीलाई निर्देशन दिइएको छ ।

बैठकले सार्वजनिक सवारीको सिट क्षमता र अधिकतम यात्रु सङ्ख्या खुल्ने विवरण तथा सवारीचालक, सवारी चालकको विवरण, प्रमाणित गर्ने अधिकृत, सवारीधनीको नाम र मोबाइल नम्बरसहितको विवरण प्रत्येक सवारी साधनमा देखिने गरी टाँस गर्ने व्यवस्था मिलाउने र सोको अनुगमन प्रहरीले गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

राजमार्गको सुरक्षाको सन्दर्भमा सडक अवरोध हटाउनको लागि नेपाल प्रहरीसँग काठ काट्ने मेशिन (उड कटर) नभएकाले राजमार्ग भएका स्थानीय तहसँग उक्त मेशिन खरीदका लागि माग गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग एक÷एक थान मेशिन माग गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया