देउवामाथि यसरी खनिए रामचन्द्र पौडेल, ओलीले लात हानेपछि प्रचण्डलाई ठिक्क भएको छ (भिडियोसहित)

admin

काठमाडौं, २७ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा नभएको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मैले आफ्नै पार्टीको प्रधानमन्त्री पनि चाहेको छैन । तर संख्या पुग्नुपर्यो नि । जोसुकै होस् । पहिला मान्छे तयार पारौँ न । संख्या पुग्नुपर्यो नि ।’

आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए । ‘सरकार बनाउन अग्रसर किन नहुने नि । कसलाई बनाउने हो म तयार छु । म आफू नै हुनुपर्छ भनेको पनि छैन । म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने ।

उनले अगाडि भने, ‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’ तर देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ,’ उनले भने ।

यस्तै उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई वास्तविकताको धरातलमा बसेर कुरा गर्न पनि आग्रह गरे । ‘हामीले वास्तविकता बुझ्नुपर्छ । संसदमा हाम्रो संख्या संसद बेलाउन पनि पुग्दैन । यो वास्तविकता हो । संसद बोलाउन केही संख्या नपुगेर हामीले सहयोग पाएनौं । संसदमा अविश्वासको प्रस्ताव राख्ने संख्या हाम्रो पुग्दैन । ओलीलाई बोलाएर संसदमा उभ्याउन संख्या पुग्दैन । यो वास्तविक कुरा हो । संविधान अनुसार जानुपर्ने हुन्छ,’ उनले भने, ‘संसदको एक चौथाइ सदस्यले कुनै बेला संसद बोलाउन सक्छ । हामीसँग एक चौथाइ छैन । यो वास्तविकता हो नि । हामीले के गर्ने त ? सत्य कुरा त्यही हो नि । पहिला यो कुरा बुझ्नुपर्यो नि ।’

चुनावमा कम्युनिस्टको सरकार आए रुन पनि पाउनुहुन्न भनेर आफूले त्यसै नभनेको उनको भनाइ छ । ‘तर जनताले तिनलाई नै भोट हालिदिए के गर्ने ? भोट त हाम्रो हातमा छैन नि ! देशको मालिक जनता हो । जनता हामीलाई हराए के गर्ने ? जनता मालिक हो । जनताको घर दैलोमा जाऔँ । हामी कांग्रेस पार्टी हौं । हामीले धाँधली गर्न जानेको पनि छैन,’ उनले भने ।

देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बताएका छन् । त्यसबेला प्रचण्डले केपी शर्मा ओलीलाई साथ दिएकोसमेत उनले बताए। देउवाले २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बन्न भनेको बताए ।

उक्त भेलामा बोलेका देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले ? तपाईंहरूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक भएको छ ।’ उनले ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको बताए । आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि उनको भनाइ छ । जसलाई प्रधानमन्त्री बनाए पनि आफू तयार रहेको उनले बताए । कार्यक्रममा पौडेलले आफूले बोलिसकेर मञ्चमा जाँदा देउवामाथि खनिएका थिए ।

प्रतिक्रिया