देउवा सरकारलाई समर्थन गरियो तर सहभागी हुँदैनौँ : महन्थ ठाकुर पक्ष

admin

काठमाडौं, १२ साउन : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आउँदो रणनीतिबारे छलफल सुरु गरेको छ । (हिजो) सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका सङ्घीय सांसद र प्रदेश सभाका काठमाडौंमा उपलब्ध सांसदहरूले (आज) मंगलबारदेखि छलफल सुरु गरेका हुन् ।

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउँदै आएको छ । सोमबार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो । निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेता कर्णले भने, ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कल प्राप्त भएका छन् । त्यसलाई अध्ययन गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु गरिएको छ ।’ ‘ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ । सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौँ । अहिले पनि विपक्षमा बस्छौँ’, नेता कर्णले सञ्चारकर्मीमाझ स्पष्ट पारे, ‘हामी सरकारमा सहभागी हुँदैनौँ ।’

प्रतिक्रिया