देखिन थाल्यो नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव

रिता घिसिंग

काठमाण्डौ : बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावका कारण उपत्यकामा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभाव विस्तारै बढ्दै जानेछ । महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ ।

चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

यस्तै अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पनि पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ । आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।

फानीको प्रभाव पर्सि दिउँसोसम्म नै पर्ने देखिएको अर्का मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार फानी, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आज र भोलि देशभरिकै मौसम खुल्ने सम्भावना कम छ । खुलिहाले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने छ भने हिमाली भेगमा हिमपात हुने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया