देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड

admin

दमौली, १६ मङ्सिर : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । मङ्सिर कृष्ण चतुर्दशीको दिन देवघाटमा शतबीज छर्न आज बिहानैदेखि देवघाटमा भक्तजनको भीड लागेको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देशका विभिन्न जिल्लाबाट भक्तजनको आगमन भएको जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँका अतिरिक्त चितवन, नवलपुर, नवलपरासी, हेटौँडालगायतका जिल्लाबाट भक्तजन देवघाट आइपुगेका छन् ।

अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले विगतका वर्षहरुमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ ।

“कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छौँ”, घिमिरेले भन्नुभयो, “मापदण्ड अपनाएर आज राति बत्ती बाल्न अनुरोध गरिएको छ ।”

रातभर जाग्राम बसेर भक्तजनले शुक्रबार बिहान दीप प्रज्वलन गरी शतबीज छर्ने गर्दछन् । शुक्रबार बालाचर्तुदशी पर्व, शतबीज छरेर मनाइँदै छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।

शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुनजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौँ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ । रासस

प्रतिक्रिया