देशका केही ठाउँमा बर्षा, १० जिल्लामा उच्च सावधानी अपनाउन मौसमविद्को आग्रह

admin

काठमाडौं, १९ साउन : सोमबार देशका धेरैजसो ठाउँमा पानी परेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ । महाशाखाले १० जिल्लामा उच्च सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको बलेफी जलाधार क्षेत्रमा ठूलो पानी परेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

मेलम्ची, इन्द्रावती, बलेफीका केही साना सहायक नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै सोमबार पाँचथर, इलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, धादिङ, गोरखा, नवलपरासी, कपिलवस्तु र आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी परेका क्षेत्र र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

मंगलबारसम्म नै देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

‘इमाइस’ नामक सामुद्रिक आँधी अमेरिकाको फ्लोरिडा नजिक
इमाइसु नामक सामुद्रिक आँधी अमेरिकाको फ्लोरिडा नजिक पुगेको छ । आँधीसँगै ठूलो पानी पनि पर्ने भएकाले बाढी तथा डुबानको खतरा हुन सक्ने चेतावनी दिइएको छ ।

यो आँधीको वेग १ सय २० किलोमिटर प्रतिघण्टा रहने छ । आँधी आइपुग्नु अगाडि नै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन त्यहाँको जलवायु विज्ञानले आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालिन स्थिति घोषणा गरेका छन् । अमेरिकी अन्तरिक्ष केन्द्र नासाले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ ।

फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । 

प्रतिक्रिया