देशका केही ठाउँमा मेघगर्जनसहित वर्षा, सावधानी अपनाउन आग्रह

admin

काठमाडौं, ३ बैशाख : काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले पहाडी केही क्षेत्रमा पानी परेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । अहिले काठमाडौं उपत्यकासहित भोजपुर, ओखलढुङ्गा, धनकुटालगायत क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको उनले जानकारी दिइन् ।

प्रि-मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनमा पानी पर्ने र घाम लाग्ने हुन्छ । बिहीबारदेखि प्रि-मनसुन सक्रिय भएकाले गएराति ठूलो हावाहुरीसहित चट्याङ्ग परेको थियो । अहिले पनि वर्षासँगै मेघगर्जन भइरहेको छ । शनिबार पनि देशका पहाडी क्षेत्रको मौसम यस्तै रहने मौसमविद्को अनुमान छ ।

केही दिन प्रि-मनसुन सक्रिय रहने भएकाले हावाहुरी र चट्याङ्गसहित केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्ले बेलुकापछि हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया