देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा दिनुपर्छ : महानिरीक्षक खनाल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १४ मङ्सिर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आगमनको समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।

महानिरीक्षक खनालले नेपाल आउने पाहुनालाई बिना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटोछरितो सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता र विशिष्ट पाहुनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

उहाँले विमानस्थलमा हुनसक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने बताउनुभयो । निरीक्षणको क्रममा महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधनस्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया