देशभरका ४७ स्थानीय तह कोरोनाको उच्च जोखिममा

admin

काठमाडौं, १६ कात्तिक : दसैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् ।कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ ।

सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो ।

सिसिएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन । स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीका अनुसार मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो । ‘दसैँमा त्यहाँ गएकालाई पनि फैलाउने र अन्तबाट आएकाहरूले पनि फैलने देखिएको छ,’ उनले भने । यी स्थानीय तह बढी जनसंख्या भएका क्षेत्र हुन् ।


जनसंख्या कम भएको ठाउँमा सीमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना भए पनि बढी जनसंख्या भएको ठाउँमा कसले कसलाई भेट्यो भन्ने थाहा नहुने चिकित्सकहरू बताउँछन् ।

अहिले काठमाडौंमा दैनिक केस बढ्नुको प्रमुख कारण पनि कसले कसलाई भेट्यो भनेर पत्ता लगाउन नसक्नु नै भएको चिकित्सकको भनाइ छ । डा.अधिकारीले काठमाडौं मात्रै नभएर बाहिरका हटस्पट भनेर सूचीकृत भएका ४७ ठाउँका नागरिकले विशेष ख्याल गर्नुपर्ने भएको बताए ।

‘काठमाडौंजत्तिको सेवा–सुविधा ती क्षेत्रमा छैन, कोभिड संक्रमण काठमाडौंकै अनुपातमा बढ्ने देखिएको छ । त्यसैले स्वास्थ्यका मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आवश्यक छ,’ अधिकारीले भने । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया