देशभर चिसो बढ्यो

admin

काठमाडौँ, मंसिर १२ : काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्दै गएको छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन भएको छ।

आज बिहान पौने ६ बजे उपत्यकाको तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो यस बर्षको जाडो सुरु भएयताको कम तापक्रम मापन भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उपत्यकाको हिजोको न्युनतम तापक्रम ८ दशमलव ४ र अस्ति ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम दिनहुँ घट्ने क्रममा रहेको छ। महाशाखाको पछिल्लो मापनअनुसार जुम्लाको तापक्रम माइनस २ दशमलव ५ डिग्री सेल्सियस छ।

आज दिउँसो प्रदेश नम्बर एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना रहेको छ।

नेपालको पूर्वी भू–भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै छ। उक्त प्रणालीसँगै भित्रिएको प्रदूषणले प्रदेश नम्बर एक , काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा तुवाँलो लागेको छ।

प्रतिक्रिया