देशभर बदली: पश्चिम तराईँमा मेघगर्जनसहित वर्षा हुँदै

admin

काठमाडौँ, २७ मङ्सिर: पश्चिमि निम्न चापिय प्रणालीको प्रभावले शुक्रबार देशभरको मौसम पूर्ण बदली भएको छ । पश्चिम तराईँका क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ ।

देशका उच्च पहाडी भूभागमा आज दिनभर भारी हिमपातको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविद अर्यालले बताए ।

उनका अनुसार पश्चिमी क्षेत्रमा हिमपातसँगै वर्षा र सामान्य हुरी समेत चल्ने सम्भावना छ । हिमपात र वर्षा भएसँगै देशभर जाडो बढेको छ । पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव आज रातिसम्म कायमै रहने मौसमविद अर्यालको भनाई छ ।

काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको अर्यालले बताए । राति बदली भएका कारण शुक्रबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको उनले बताए ।

प्रतिक्रिया