देशलाई गृहयुद्धमा धकेले, प्रधानमन्त्री ओली संकटकाल लगाउने दाउमा छन् : कृष्ण पहाडी (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, २० पुस : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् । एक कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन् ।

उनले संकटकाल लगाएर भएपनि सत्ताको समय लम्ब्याउने सुरमा प्रधानमन्त्री रहेको बताए । लामो सङ्घर्षपछि प्राप्त उपलब्धिहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको उनको भनाइ छ । प्रतिनिधि सभामा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्का भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको मानव अधिकारकर्मी पहाडीले बताए ।

यस्तै प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि पटक-पटक गैर-संवैधानिक कामको सिलसिलालाई प्रारम्भ गरेको पनि उनले आरोप लगाए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधानमन्त्रीले संविधान विघटन गर्न सक्ने बताए ।

नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरूले अहिले संविधानको रक्षाका लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरूले संविधानको पाना च्यात्ने काम गरेको पनि पहाडीले बताए ।
बाँकी भिडियोमा हेर्नुस् !

प्रतिक्रिया