देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागे : चित्र बहादुर केसी

admin

 

काठमाडौं, २७ चैत : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको छ ।

विघटित प्रतिनिधि सभा पुनःस्थापना भए पछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरी देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको हो ।

बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले टुट फुट भएका कम्युनिष्टहरु फेरी मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

केसीले सरकार जनताको आधारभूत समस्याहरु समाधान गर्नुको साटो संसद किनबेचको खेलमा लागेको बताउनुभयो । केसीले संघियताले मुलुकलाई बोझ थपेको भन्दै संघियता खारेजीको माग गर्नुभयो ।

चौथो राष्ट्रिय सम्मेलनले पुन चित्रबहादुर केसीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया