देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार ओलीलाई

admin

काठमाडौं, ३० बैशाख : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार ओलीलाई दिने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

यस्तै बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय बैठकले गरेको प्रवक्ता एवम् नेता ज्ञवालीले जानकारी दिए ।

पार्टी एकताको रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै निलम्बन गरिएका नेताहरू माधवकुमार नेपाल भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ र आफ्नै सरकार ढालेर विपक्षीहरूको सरकार बन्ने बनाउने र त्यसका निम्ति मुख्य कारक बन्ने बाटोमा नहिँड्न साथीहरूलाई आह्वान पनि गरेको उनले बताए ।

बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलई प्रत्यायोजन गरेको छ । माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो चुनौती र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारीबारे जानकारी गराएका थिए ।

बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभावलगायतका समस्या सम्बोधन गर्न राज्यका सबै क्षमता र सबै कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ । यसैबीच नेता ज्ञवालीले पार्टी २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्कने सम्भावना नरहेको सङ्केत गरेका छन् ।

पार्टीकै नेपाल-खनाल पक्षले पार्टी एकता र सहमतिअनुसार चल्ने हो भने २०७५ साल जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने अडानका बारेमा बैठकले केही निर्णय गर्‍यो भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा नेता ज्ञवालीले प्रतिकूल अवस्थामा नेतृत्वका पक्षमा दृढतापूर्वक उभिएका पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरूको योगदानको अवमूल्यन गर्ने खालको निर्णय नहुने बताएका हुन् । तर अन्य विषयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने अख्तियारी भने अध्यक्षलाई दिइएको उनले जानकारी दिए ।

यस्तै नेपाल-खनाल समूहका सांसदहरूले राजीनामा गरेर सरकार गठनको प्रक्रियालाई कुनै पनि असर नगर्ने पनि उनले उल्लेख गरे । कार्यविभाजन भनेको कुनै पनि बेला परिर्वतन हुने भएकाले पार्टीभित्र फर्किएर नेतृत्वलाई सहयोग गरेको अवस्थामा आवश्यक भूमिका र कार्यविभाजन हुने पनि ज्ञवालीको भनाइ छ ।

उनले नेपाल-खनाल समूहले विगतमा पनि दलको अध्यक्षलाई अध्यक्षबाट, साधारण सदस्यताबाट पनि बर्खास्त गर्ने काम गरेको तथा विश्वासको मत लिने दिन प्रतिनिधि सभामा अनुपस्थित भएर विपक्षी दललाई सघाउने काम गरेको उल्लेख गर्दै पार्टी एकताको रक्षाका लागि सकारात्मक ढङ्गले योगदान गर्न पनि बैठकले आह्वान गरेको बताए ।

प्रतिक्रिया