‘दैनिक उपभोग्य वस्तु ढुवानी कतै रोकतोक हुँदैन, गाडीमा ब्यानर र साथमा परिचय पत्र राख्नुस्’

admin

काठमाडौं, १७ बैशाख : अघिल्लो वर्ष यो बेला भोग्नुपरेको लकडाउनकै झल्को दिनेगरी काठमाडौं उपत्यकासहित कोरोना संक्रमित धेरै भएका जिल्लामा निषेधाज्ञा लगाइएको छ । निजी तथा सार्वजनिक गाडी चलेका छैनन् । कोरोना महामारी नियन्त्रण गर्न गरिएको निषेधाज्ञा पालना गरी नागरिक घरभित्रै बसेका छन् । काठमाडौंमा निषेधाज्ञा सुरु भएपछि उत्पादन भएका तरकारी बजारसम्म पुर्‍याउन र मूल्यपर्नेगरी खपत गर्न नसकिएला कि भन्ने चिन्ता सुरु भएको छ ।

अहिले बजार पठाउन नसके टमाटर तथा खरबुजामा गरेको लगानी र मेहनत खेर जान्छ । पछि बेचौँला भनेर भण्डारण गरेर राख्न सक्ने पनि अवस्था छैन । अघिल्लो वर्ष अवस्था केही फरक थियो । कोरोना भाइरस सर्ने पो हो कि भनेर कतिपय उपभोक्ताले तरकारी, फलफूल तथा दूग्धजन्य पदार्थ किनेर खान समेत डराए । लकडाउनका सुरुवाती दिनमा दूध खपत हुन नसकेर फाल्नु पर्नेसम्मको अवस्था आयो ।

त्यसैगरी तरकारी तथा फलफूल पनि खेर गयो । कोरोना संक्रमण सुरु भएपछि स्वास्थ्य, शिक्षा, पर्यटन, व्यापार व्यवसायमा ठूलै असर परे पनि कृषि उत्पादनको क्षेत्रमा सकारात्मक प्रभाव परेको सरकारको भनाइ छ । विदेशबाट फर्किएका र सहरबाट गाउँघर पुगेका कतिपयले कृषि क्षेत्रमा लगानी गरेका छन् । भर्खर लगानी गरी उत्पादन थालेका, निरन्तर खेती किसानी गर्दै आएका तथा व्यावसायिक कृषिमा लागेका किसानले आफ्नो उत्पादन खेर जान नदिन र आयआर्जन गर्न उत्पादित वस्तु बजारमा लैजानुको विकल्प छैन ।

यस्तै सरकारले स्वास्थ्यका मापदण्डलाई पालना गरी परिचय पत्रसहित निषेधाज्ञा लागू भएका जिल्लामा पनि कृषि उपज सहजै लैजानसक्ने गरी व्यवस्थापन मिलाएको छ । अत्यावश्यक वस्तु तथा सेवालाई निर्बाध ढुवानी गर्न केन्द्र तहमा सम्बन्धित मन्त्रालयको समन्वय र सहकार्यमा काम भइरहेको कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरे बताउँछन् । गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालयका पदाधिकारीसहितको टोलीले अत्यावश्यक वस्तु तथा सेवा नियमित गर्न समन्वय गरिरहेको उनको भनाइ छ ।

र्‍यापिड रेस्पोन्स टिमका सदस्य समेत रहेका घिमिरेका अनुसार स्वास्थ्य, खाद्य तथा दैनिक उपभोग्य वस्तु ढुवानी तथा आपूर्तिमा कहीँकतै समस्या छैन, समस्या भइहालेमा टिमले आवश्यक सहजीकरण गर्दै आएको छ । उनी भन्छन्, ‘गाडीमा ब्यानर र साथमा परिचय पत्र राख्नुस् कतै रोकतोक हुँदैन ।’ कुन ठाउँबाट कहाँ लैजान खोजेको हो, के लैजान खोजेको हो त्यो खुलाएर ब्यानरमा लेखेर गाडीको अगाडि राखेर लैजान सक्ने कृषि मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सम्बन्धित उद्योगबाट जारी भएको परिचय पत्रका आधारमा आवतजावत गर्न र तरकारी, फलफूल तथा दुग्धजन्य वस्तु ढुवानी गर्ने गाडीमा परिचय र प्रयोजन खुल्ने ब्यानरका साथ ढुवानी गर्न पाइने व्यवस्था गरेको छ ।

त्यस्तै चितवनको खैरहनी नगरपालिका-१० का सीताराम अर्याल व्यावसायिक तरकारी खेती गर्छन् । अहिले टमाटर टिप्न र बजार पठाउन थालिएको छ । अघिल्लो हप्तादेखि खरबुजा पनि बेच्न सुरु भइसक्यो । दैनिक ५रर६ गाडी तरकारी, फलफूल ढुवानी हुँदै आएको अर्याल बताउँछन् । अर्यालले उत्पादन गर्ने तरकारी तथा फलफूलको मुख्य बजार पोखरा र काठमाडौं हो । तरकारी र फलफूलसँगै दूध उत्पादन गर्ने किसानको पनि उस्तै चिन्ता छ ।

यसैगरी खैरहनी नगरपालिका १२ का कृष्ण भण्डारीको डेरी उद्योग छ । उनले झण्डै चार सय गाई पालेका छन् । दैनिक झण्डै १५ सय लिटर दूध उत्पादन हुन्छ । उनका अनुसार मुख्य बजार काठमाडौंमा निषेधाज्ञा गर्ने निर्णय भएपछि कतिपय उपभोक्ता गाउँ गएका कारण खपत कम हुने अनुमान छ । पोहोर आफ्नै साधन नहुँदा दूध पठाउन नसकेको तर यसपालि ढुवानी गर्न गाडी बन्दोबस्त भएकाले सरकारले ढुवानी नरोके सहजै बजार या उद्योगमा पठाउन सक्ने उनी बताउँछन् ।

निषेधाज्ञाको पहिलो दिन (हिजो) बिहीबार काठमाडौंमा ५० प्रतिशत मात्रै दूध खपत भएको नेपाल डेरी एशोसिएसनको तथ्याङ्क छ । कतिपय उपत्यका छोडेर गाउँ गएको, स्कुल रर कलेज, होटल लगायतका क्षेत्र बन्द भएको तथा उपभोक्ताले खर्चमा मितव्ययिता अपनाउँदा माग घटेको तर आपूर्ति व्यवस्थापनमा समस्या नरहेको एशोसिएसनका महासचिव प्रह्लाद दाहाल बताउँछन् ।

प्रतिक्रिया