दैलेखमा शिक्षक नियुक्तिमा अनियमितता, तीन जना पक्राउ

admin
  • खगेन्द्र हमाल

दैलेख: शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई पक्राउ गरेको छ । आयाेगले दैलेख डुङ्गेश्वर गाउँपालिका-वडा न:५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित ३ जनालाई पक्राउ गरेको हो।

गाउँपालिकाका वडासदस्य एवंम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीसहित शिक्षक पदमा छनौट भएका घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई नियन्त्रणमा लिइएको आयोगको सुर्खेतमा रहेकाे कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समिति संयोजक शाहीले निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषय शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता गरेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयाेगले जनाएको छ ।

परीक्षा सञ्चालन हुनु अगावै पास गराउन चाहेको परीक्षार्थीलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुञ्जिका पठाएर शिक्षक छनोट गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट अनुसन्धान हुँदा अख्तियार दुरुपयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको आयाेगले जनाएको छ ।

प्रतिक्रिया