दोब्बरले बढ्दै संक्रमितको संख्या, सकभर घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

admin

काठमाडौं, ८ बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना संक्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरे ।

उनले पछिल्ला दिनको तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा संक्रमण दर दोब्बरले बढेको बताए । बुधबार मात्रै दुई हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही दरमा संक्रमण बढ्दै गए सरकारको संरचनाले धान्न नसक्ने हुँदा आम नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा. गौतमको भनाइ छ ।

मन्त्रालयले समुदायमा पनि संक्रमण फैलिरहेको जनाएको छ । काठमाडौंलगायत देशका मुख्य सहरहरूमा बढी संक्रमण दर बढेको पाइएको छ । यसैबीच मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न प्रयोगशाला, प्रयोगशालमा प्रयोग हुने उपकरण र सामग्रीका साथै रेडियो इमेजिंग सेन्टरमा प्रयोग गरिने उपकरण गुणस्तरीय एवम् भरपर्दो हुनुपर्ने जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति नै निकालेर भनेको छ, प्रयोगशाला र रेडियो इमेजिंग सेन्टरमा प्रयोग हुने उपकरण तथा रिएजेन्टहरू खरिद, प्रयोग र उपयोग गर्दा यूएए-एफडीए, ईयूसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्री प्रचलनमा ल्याउन सबै सरोकारवालामा अनुरोध गरिन्छ ।

प्रतिक्रिया