दोलखामा मात्र देखाइने भैरवकुमारी जात्रा सम्पन्न

राष्ट्रिय समाचार समिति

चरिकोट, ५ भदौ : दोलखाबजारमा मात्र पाँच दिनसम्म मनाइने भैरव कुमारी जात्रा सकिएको छ । दोलखा जिल्लाको नेवार समुदायको बसोबास रहेको दोलखाबजारमा मात्र मनाइने भैरव कुमारी जात्रा गए राति दोलखा बजारका मन्दिर र टोलहरुमा भैरव कुमारीको परिक्रमा गराई सम्पन्न भएको हो ।

Sunplus

गाईजात्राको भोलिपल्टदेखि लगातार पाँच दिनसम्म मनाइने यो जात्रामा कुमारीको विभिन्न रूप बनाई रातिको समयमा बाजागाजासहित दोलखा बजारको टोलको परिक्रमा गराइन्छ । दोलखा बजारको टँसिचा टोलस्थित कुमारी घरबाट भैरव, कुमारीकी आमा (नकिन), घोडचढी र जाल हान्नेसहित १४ जनाको समूह आकर्षक शैलीमा नाच्दै टोलको परिक्रमा गराउँदै राति यो जात्रा निकाल्ने गरिन्छ ।

द्वापरयुगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरूलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको धार्मिक मान्यता रहेको पाइन्छ । तान्त्रिक विधि गरेर शुरु गरिने जात्रा निकाल्नु पूर्व व्रत बस्ने महिला दिनभर नखाई टँसिचा टोलको गुठीघरमा भेला हुन्छन् । मनको इच्छा पूरा हुने भन्दै पाँच सय वर्ष पुरानो भैरव कुमारी जात्रा हेर्न र भैरव कुमारीको दर्शन गर्न देशका विभिन्न भागबाट भक्तजन दोलखाबजार आउने गर्दछन् ।

प्रतिक्रिया