दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न सकिँदैन, सबैले नियमावली पालना गर्नु पर्‍यो नि : ईश्वर पोखरेल

admin

काठमाडौं, १५ साउन : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्यममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार थापाथलीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको स्पष्ट पारे ।

‘पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ । त्यसमा जाँदा त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुरालाई नै पालना गर्नु पर्‍यो नि ! सबैले’, उनले भने ।

माधव नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए । उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ । महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुङ्ग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारीसमेत दिए ।

यस्तै एमालेले (भोलि) शनिबार पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पार्टीको आउँदो महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुङ्ग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ ।

प्रतिक्रिया