दोस्रो पटक नेपाली झण्डा फहराउँदै, संसारकै अग्लो भवन बुर्ज खालिफामा

admin

काठमाडौं, ३ असोज : नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा (आज) शनिबार संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउने भएको छ ।

यूएईको स्थानीय समयअनुसार शनिबार साँझ ८ बजे (९ बजेर ४५ मिनेट नेपाली समय) संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराउन लागेको नेपाली दूतावास आवुधाबीले जनाएको छ ।

संसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान बढ्ने र नेपाल पर्यटन वर्षलाई समेत सहयोग पुग्ने बुझाई धेरैको छ ।

संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधावी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्थ्यो ।

यो वर्ष पनि नेपालको झण्डा फहराउने कुराले यूएईमा कार्यरत धेरै नेपाली खुसी छन् । संविधान दिवसको अवसर पारेर यूएईमा हरेक वर्ष विशेष कार्यक्रम गरिँदै आएको भए पनि कोरोनाका कारण यस पटक औपचारिक कार्यक्रम नगरिने दूतावासको भनाइ छ ।

लामो समयको प्रयास र मेहनतपछि यूएई सरकारले गएको वर्ष जस्तै यस पटक पनि बुर्ज खालिफामा निस्शुल्क नेपाली झण्डा फहराउन लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् ।

दुईवर्ष पहिले राजदूतको रुपमा ढकाल यूएई पुगे लगत्तै नेपाली पत्रकार सँगको पहिलो भेटघाट तथा छलफलको क्रममा झण्डा फहराउन आफूले सकेको प्रयास गर्ने बताएका थिए ।

त्यस्तै आवुधाबीमा नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा समेत नेपाली झण्डा फहराउने भएको छ । गएको वर्ष पनि यस भवनको ७५ औ तल्लामा साँझ सात बजेबाट बिहान १ बजेसम्म झण्डा फहराइएको थियो । यस पटक पनि यस भवनमा नेपाली झण्डा फहराइने नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया