द्वन्द्वपीडितलाई जतिसक्दो चाँडो न्याय दिलाउँछौँ : अध्यक्ष ‘प्रचण्ड’

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ९ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतासँग जोडिएका बेपत्ता पारिएको व्यक्तिहरुको सम्बन्धमा जतिसक्दो चाँडो टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार अधिकार आयोगद्वारा यहाँ आज आयोजित ‘सङ्क्रमणकालीन न्यायको विकास अन्तरसंवाद’ मा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिका परिवारको न्यायका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोगलाई पूर्णता दिनेबारेमा दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “यो प्रक्रियालाई टुङ्ग्याउनु नै राष्ट्रको हितमा छ, राजनीतिक दलको पनि हितमा छ । जनता र पीडितको हितमा छ भन्ने बुझाइ गुणात्मक रुपमा गहिरो भएको छ । यो एउटा हामी सबैका लागि यो अवसरलाई हामीले गुम्न दिनु हुँदैन । त्यसैले अहिले ऐन संशोधन र आयोगलाई पूर्णता गर्ने विषय समानान्तर रुपमा अगाडि बढिरहेको छ ।”

सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भएको उल्लेख गर्दै उहाँले राजनीतिक नेतृत्व र दलहरुकै कारण यो अहिलेसम्म लम्बिएको स्वीकार गर्नुभयो । अध्यक्ष दाहालले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोषी देखाउनुको सट्टा एकापसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने बताउनुभयो । (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बेपत्ता सम्वन्धी आयोगमा साझा व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले द्वन्द्वका क्रममा भएका घटनाको दीर्घकालीन समाधान गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया