द ल्यासेन्टमा वैज्ञानिकले पेश गरेका यी १० प्रमाण, हावाबाट कोरोना कसरी फैलिन्छ ?

admin

एजेन्सी, २६ बैशाख : कोरोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) अन्ततः कोरोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको छ । डब्ल्यूएओले भनेको छ, ‘भाइरस खराब भेन्टिलेशन वा भीडभाडयुक्त बन्द स्थानमा पनि फैलन सक्छ जहाँ मानिसहरु लामो समयसम्म बस्छन् किनभने एयरोसोल हावामा एक मिटरभन्दा पनि परसम्म जानसक्छ ।’

डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित प्रश्नको जवाफ अपडेट गरेको छ । यसमा मानिसहरुबीच कोरोना कसरी फैलिन्छ भन्ने प्रश्नको पनि जवाफ दिइएको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ । संगठनले कोरोना हावाबाट पनि फैलन्छ भन्ने बारे हालसम्म पर्याप्त जानकारी नभएको बताउँदै आएको थियो ।

ड्रपलेट र एयरोसोलबीच ठूलो भिन्नता :-
– मानिसहरुले हाच्छिउँ गर्दा, खोक्दा, गीत गाउँदा वा बोल्दा आफ्नो नाक वा मुखबाट भिन्न आकारको थोपा वा छिट्टा निस्कने गर्छ ।
– ड्रपलेटको साइज ५ माइक्रोमिटरभन्दा ठूलो हुन्छ । एयरोसोलको साइज पनि ६ माइक्रोमिटरभन्दा बढी नै हुन्छ ।
– ड्रपलेट २ मिटर अर्थात् करिब ६ फिट परसम्म जान सक्छन् । एयरोसोल हावासँगै निकै टाढासम्म जान सक्छ ।

कोरोना कसरी फैलिन्छ ?
चीनमा सन् २०१९ मा कोरोना फैलिए लगत्तैदेखि नै यो प्रश्नमाथि भारी बहस हुँदै आएको छ । वास्तवमा, यो बहसको पछाडि वैज्ञानिकबीच ड्रपलेट र एयरोसोलको विषयमा मतभेद छ । हालसम्म धेरैजसो वैज्ञानिकको मान्यता यो थियो कि खोक्दा, हाच्छिउँ गर्दा, गाउँदा, बोल्दा वा मानिसहरुको नाक वा मुखबाट जुन छिट्टा वा थोपा निस्कन्छ, त्यो नै ड्रपलेट हो ।

अर्थात् त्यसको आकार ५ माइक्रोमिटरभन्दा ठूलो हुन्छ । त्यसमा कोरोनाभाइरस हुँदा पनि त्यो आफ्नो तौलका कारण दुई मिटरभन्दा टाढा जान सक्दैन । गुरुत्वाकर्षणका कारण तल झर्छ । अर्थात्, कोरोना हावाबाट फैलिँदैन । यस्तै विशेषज्ञका दोस्रो समूहका अनुसार मुख र नाकबाट निस्कने छिट्टाको आकार ५ माइक्रोमिटरभन्दा कम पनि हुनसक्छ र यो हावासँगै बगेर टाढासम्म जान सक्छ ।

अर्थात् कोरोनाभाइरस हावाबाट पनि फैलन सक्छ । डब्ल्यूएचओले सन् २०२० जुलाईमा कोरोना भाइरस हावाबाट फैलने कुनै प्रमाण नभएको बताएको थियो । कोरोना फैलन सुरु गरेको सुरुवाती महिनामा त डब्ल्यूएचओले सबैलाई मास्क लगाउनुको साटो संक्रमितलाई मात्रै मास्क लगाउन सल्लाह दिएको थियो ।

जुलाई सन् २०२० मा स्वतन्त्र स्वास्थ्य विज्ञले कोरोनाभाइरस हावाबाट फैलन्छ भनेका थिए । त्यतिबेला डब्ल्यूएओले कोरोनाभाइरस हावाबाट पनि फैलन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएको थियो तर संगठनले लगत्तै यसमा कुनै प्रमाण नभएको बतायो ।

सन् २०२० को जुलाईमा डब्ल्यूएचओ कोरोना कुनै पनि संक्रमितको सम्पर्कमा आएपछि, उनको नाक वा मुखबाट निस्कने छिट्टा वा भाइरसयुक्त थोपा र फोमिटिज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएको भाइरसबाट फैलने भन्दै आफ्नो पुरानो गाइडलाइनमा कायम रह्यो ।

यसै वर्ष अप्रिलमा कोरोना फैलने बहसमा निकै ठूलो मोड आयो । वैज्ञानिकको एक समूहले चर्चित मेडिकल जर्नल द ल्यासेन्टमा १० प्रमाणसहित कोरोनाभाइरस हावाबाट पनि फैलन्छ भन्ने दाबी गर्यो । यस्तै, अमेरिकामा एमआइटी अर्थात् म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीको अनुसन्धानमा ६ फिट सामाजिक दुरीको नियमको कुनै अर्थ छैन ।

यो कुराको पर्याप्त प्रमाण छ कि खोक्दा वा हाच्छिउँ गर्दा मुख वा नाकबाट निस्कने छिट्टा यति साना हुन्छन् कि ती एयरोसोल बन्ने गर्छ । विशेषगरी बन्द स्थानमा यसले एक सुपर स्प्रेडरको रुपमा काम गर्छ । अनुसन्धानमा अमेरिका, चीन र कोरियामा यसरी कोरोना फैलिएको थुप्रै घटनाबारे जानकारी दिइएको थियो ।

द ल्यासेन्टमा वैज्ञानिकले पेश गरेका थिए यी १० प्रमाण :-
१- मानव व्यवहार, कुराकानीको तरिका, कोठाको आकार, भेन्टिलेशन र अन्य कुराको विश्लेषणबाट थाहा हुन्छ कि ड्रपलेट्स (छिट्टा) र फोमिटीज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिमा भएको भाइरसले मात्रै कोरोना यति तीब्र रुपमा फैलन सक्दैन ।

२- क्वारेन्टिन होटलमा यो कुराको प्रमाण भेटिएको छ कि एक अर्कालाई नभेटी वा सम्पर्कमा नआउँदा पनि वरिपरिका कोठामा बसेका मानिसहरुमा संक्रमण फैलियो ।

३- कोरोनाको ३३ प्रतिशत देखि ५९ प्रतिशत मामिला लक्षण बिनाका संक्रमितबाट फैलिन्छ जबकी उनीहरु न त खोक्छन् न हाच्छिउँ गर्छन् । यो कुराले के प्रमाणित गर्छ भने कोरोना हावाबाट पनि फैलिन्छन् ।

४- कोठा खुल्ला स्थानमा भन्दा बन्द कोठामा बढी तीब्र गतिमा फैलन्छ । कोठाको झ्याल, ढोका खुला राख्दा फैलने दर कम हुने गर्छ । अर्थात् कोरोना हावाबाट फैलिन्छ ।

५- अस्पतालमा हुने संक्रमण पीपीई लगाएका स्वास्थ्यकर्मीमा पनि देखियो । कारण यो हो कि उनीहरुको पीपीई ड्रपलेटबाट बच्नका लागि त डिजाइन गरिएको छ तर एयरोसोलबाट बच्नका लागि छैन ।

६- विज्ञका अनुसार प्रयोगशालामा कोरोनाभाइरस तीन घण्टासम्म हावामा तैरिरहेको देखिएको छ ।

७- अस्पताल र घरमा राखिएका एयर फिल्टर र डक्टमा पनि कोरोनाभाइरस भेटिएको छ, यस्तो स्थानमा एयरोसोल बिना भाइरस पुग्न सक्दैनन् ।

८- पिँजडामा बन्द जनावरसम्म कोरोना पुग्नुले स्पष्ट पार्छ कि भाइरस हावाबाट पनि फैलिन्छ ।

९- हालसम्म कुनै यस्तो सिद्धान्त सार्वजनिक भएको छैन जसले पुष्टि गर्न सकोस् कि कोरोनाभाइरस हावाबाट फैलिँदैन ।

१०- कोरोना फैलने अन्य तरिका जस्तै नाक-मुखबाट निस्कने ड्रपलेट वा फोमिटिज अर्थात् कपडा, भाँडाकुँडा, फर्निचर आदिबाट फैलन्छ भन्ने कुराका सिमित प्रमाण छन् ।

प्रतिक्रिया