धनगढीमा पनि खुल्यो कपडा बैंक

राष्ट्रिय समाचार समिति

धनगढी, २० साउन: तयारी लुगा किनेर लगाउन सक्ने क्षमता नभएका व्यक्तिले यहाँ निःशुल्क रुपमा पुनः प्रयोग गर्न मिल्ने लुगा पाउने भएका छन् । तयारी लुगा किन्न नसक्ने व्यक्तिका लागि यहाँ स्थापना गरिएको कपडा बैँकमार्फत लत्ताकपडा लगायतका सामग्री निःशुल्क उपलब्ध गराउन लागिएको हो ।

स्थानीय व्यापारी गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको रु १५ लाखको संयुक्त लगानीमा स्थापना भएको कपडा बैंकमा असहाय, अशक्त, दैवीप्रकोप पीडित र विपन्न समुदायका व्यक्तिले लाभ लिन सक्ने जनाइएको छ । धनगढीको धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाम परिसरमा सो बैंक स्थापना गरिएको छ ।

प्रदेशसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त बैंकको आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँहरुले निःशुल्क कपडा वितरण गरेर पुण्य प्राप्त गर्ने बैंक सञ्चालकको योजनाको सराहना गर्नुभयो । सञ्चालकहरुले धार्मिकसँगै सामाजिक कार्यसमेत गर्ने उद्देश्यका साथ कपडा बैंक सञ्चालन गरिएको बताउनुभयोे ।

पुनः प्रयोग गर्न मिल्ने सबैखाले लुगा सङ्कलन र व्यवस्थापन गरेर असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोचअनुरुप यो योजना ल्याइएको उहाँहरुले जानकारी दिनुभयो । यसअघि सामाजिक संस्था रोयल कोलाब्रेटिज प्रालि धनगढीमा आबद्ध युवाको पहलमा पुनः प्रयोग गर्न मिल्ने लुुगा कपडा सङ्कलन गरी विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रुपमा वितरण थालिएको हो ।

यसैबीच उपमहानगरपालिकाका प्रमुख वडको पहलमा पुनः प्रयोग गर्न मिल्ने लत्ताकपडा सङ्कलनका लागि २० थान बाकस उपलब्ध गरिएको संस्थाका देवेन्द्र जोशीले बताउनुभयो । यो काममा जोशी, गजेन्द्र शाही, सूर्यप्रकाश भट्ट, विनय चोखाललगायतका युवा सक्रिय हुनुभएको छ । धनगढीको एल एन चोक, निसर्ग अस्पताल, परिसरको चोक र सेती अञ्चल अस्पताल चोकमा स्टल राखेर निःशुल्क रुपमा लत्ताकपडाको सङ्कलन र वितरण भइरहेको छ ।

प्रतिक्रिया