धरहराको उद्घाटन बैशाख ११ गते

admin

काठमाडौं, ३१ चैत : नेपालको ऐतिहासिक सम्पदा धरहराको आउँदो बैशाख ११ गते उद्घाटन गर्ने तयारी थालिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापना कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको उद्घाटनबारे जानकारी गराएका हुन् ।

उनले भूकम्प सङ्ग्रहालयलगायत संरचनाको पुनःनिर्माण गर्न बाँकी रहे पनि प्रतीकका रुपमा रहेको धरहराको आउँदो बैशाख ११ गते उद्घाटन गरिने बताएका हुन् । सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रवलीकरणको प्रविधि भित्रनु सुखद् विषय भएको उनको भनाइ थियो । भूकम्पले भत्किएका ९३ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न हुन लागेको ज्ञवालीले बताए ।

भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यकामा स्वबासी, सुकुम्बासी र सार्वजनिक जग्गामा बसेका कारण पुनःनिर्माणले गति लिन नसकेको बताए ।

टीआई नेपालका अध्यक्ष पद्मनी प्रधानाङ्गले ५९ महिने कार्यक्रमका अवधिमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा काम गरेको सुनाए । भूकम्प अति प्रभावित १४ जिल्लामा सञ्चालित कार्यक्रम अवधिमा ५१ हजार व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएका छन् ।

यस्तै टीआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले भूकम्पपछिको पुनःनिर्माणमा सदाचार कार्यक्रम सकिए पनि भ्रष्टाचार विरुद्ध सदाचार अभियानबाट पुनःनिर्माणका कामको विषय भने निरन्तर अनुगमन गरिने बताएका थिए ।

प्रतिक्रिया