धार्केमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

अस्मिता बेल्बासे

धादिङ, २७ पुस : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्वास्थ्य समस्याहरु देखिएका छन् । प्रकृतिक विपत्तिको यो विषम परिस्थितिमा समुदाय स्तरमा नै मानसिक स्वास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरी छ ।

यसैबिच धादिङ जिल्लाको धार्के गाउँपालिकामा आइतबार एक दिने नि:शुल्क मानसिक स्वास्थ्य शिविर पनि आयोजना गरिएको छ । मनोरोग उपचार तथा पुर्न: स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु-स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिवसिय शिविर संचालन गरिएको हो ।

उक्त शिविरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गरेका थिए । उक्त शिविरमा एक सयभन्दा बढिले सेवा लिएका थिए । मानसिक स्वास्थ्य परिक्षण पछि सबै बिरामीलाई नि:शुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा आएका मध्ये तीन जना कडा खालको मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरुलाई आवासीय उपचारको प्रबन्ध मिलाइएको छ । सो कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनु पर्ने बताएका थिए ।

उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालिका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिइन् । यस्तो खालको शिविर अब देखि प्रत्येक तीन-तीन महिनामा गरिने भएको छ । धार्के गाउँपालिकाले स्थानिय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार पारि मानसिक स्वास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

दस बर्षदेखि सडकको जीवन बिताई रहेका जनक नाम गरेका मनोरोगीको उद्धार गरि गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार भइरहेको छ । गाउँपालिकाले आफ्नो सबै बडाहरुमा एक-एक जना मनोपरामर्शदाताको समेत व्यावस्था गरेको छ ।

प्रतिक्रिया