धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’

मनिषा थापा

झापा : झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

किम्बदन्ती अनुसार महाभारतकालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ ।
भक्त सत्तल सेनलाई दुःख दिइरहने लोहासुरको राज्य कता रहेछ भनेर नियाल्न पहाडको सानो थुम्कीमा नन्दिनी गाईसहित चढ्नुभएका बेला एउटा शिलामा पाइला प¥यो । नन्दिनीलेसमेत त्यहाँ टेक्दा डोब बस्यो । शिला पल्टिएर फेरि टेकिँदा अर्कोतिर पनि पाइला र डोब बस्यो ।

श्रीकृष्ण भगवानको पाइला र गाईको खुरको डोब बसेको त्यही स्थान अहिलेको कृष्णथुम्की हो भन्ने धार्मिक विश्वास रहेको छ ।

विसं २०५५ बुौद्धपूर्णिमाका दिन योगी नरहरिनाथले थुम्कीको शिरोभागमा कृष्ण र मध्यभागमा बौद्ध गुम्बाको शिलान्यास गर्नु भएको थियो । वरिपरी हरिया डाँडापाखा रहेको श्रीकृष्ण थुम्की काँकडभिट्टाबाट १८ किलोमिटर उत्तरमा छ । मोटरबाटो भएकाले पुग्नका लागि कुनै गाह्रो छैन ।

कृष्ण जन्माष्टमी र साउन महिनामा भव्य मेला लाग्ने यहाँ स्वदेशी मात्र होइन विदेशी पर्यटक दृश्यावलोकनका लागि आउने गरेको कृष्णथुम्की विकास समितिका अध्यक्ष महेन्द्र मल्ल बताउनुहुन्छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीले कृष्णथुम्की मेचीनगरका पर्यटकीय स्थानमध्ये महत्वपूर्ण स्थान भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले विशेष योजना अघि बढाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया