धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु हुदैँ

admin

काभ्रे: काभ्रेको धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु हुने भएको छ । नगरपालिकाको वडा नम्बर १० खर्कपाकामा औद्योगिक ग्राम बन्नेछ । औद्योगिक ग्राम निर्माणका लागि ५० रोपनी जग्गा अतिग्रहण गर्ने काम पुरा भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा औद्योगिक ग्राम निर्माणस्थलसम्म सडक, खानेपानी, विद्यूत र तारबारको काम हुनेछ । त्यसको लागि ९२ लाख रुपैयाँ रकम समेत आइसकेको प्रमुख प्रशासकिय अधिकृत लुइटेलले बताउनुभयो । संघीय सरकारको आर्थिक सहयोगमा निर्माण हुने औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भने नगरपालिकाले आफ्नै खर्चमा गर्ने छ ।

डिपिआरका लागि उपप्रमुख बिर्मला शार्माको नेतृत्वमा प्राविधिक सहितको टोलीले निर्माणस्थलको निरीक्षण समेत गरेको छ । प्रतिवेदन एक महिनाभित्र तयार हुने नगरपालिकाको भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले बताउनुभयो । तीन वर्षभित्र औद्योगिक ग्राम निर्माण पुरा गर्ने लक्ष्य लिइरहेको छ ।

औद्योगिक ग्रामबाट घरेलु र मझौला उद्योगहरु सञ्चालन हुनेछन् । वडा नम्बर १० का वडाध्यक्ष पुष्पराज राउतले औद्योगिक ग्राम निर्माणपछि स्थानीयहरुको दैनिकीमा परिवर्तन आउने बताउनुभयो । सडक पूर्वाधारको विकास हुने र रोजगारीको अवसर समेत बढ्ने भएकाले स्थानीयलाई सजिलो हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया