धोका भयो भनेर टिप्पणी गर्न चाहन्नँ हामी आफ्नो ढङ्गले अघि बढ्छौँ, एकै ठाउँमा फेरि भेट हुन्छ : दाहाल

admin

काठमाडौं, ३१ बैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको नेपाल-खनाल समूहबाट धोका भयो भनेर अहिले नै टिप्पणी गर्न नचाहेको बताएका छन् । सरकार गठनमा नेकपा एमालेको नेपाल-खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले धोका भयो भनेर अहिले नै टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका हुन् ।

उनले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको सङ्घर्ष चलिरहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध वैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुनः प्रधानमन्त्री बनेपछि प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।

उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा निरन्तर सङ्घर्ष गर्ने उल्लेख गरे । नेता दाहालले असंवैधानिक ढङ्गले हुने चुनावको विरोध गर्ने बताए ।

उनले भने, ‘चुनौतीपूर्ण पनि छ, सम्भावना पनि छ । हामी आफ्नो ढङ्गले अघि बढ्छौँ । संविधान र लोकतन्त्रको रक्षाका निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो सङ्घर्ष चलिरहन्छ ।प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा हामी निरन्तर सङ्घर्षमा हुन्छौँ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्नँ । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौँ । उहाँहरू भित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफु पनि संविधान र लोकतन्त्रको पक्षमा सङ्घर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ ।’

यसैक्रममा उनले भने, म आशा गर्छु उहाँहरू सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा सङ्घर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु । संवैधानिक ढङ्गले हुने कुनै पनि चुनावको निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो । संविधानअनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।

प्रतिक्रिया