नक्कली पीसीआर रिपोर्ट बनाउने डाक्टरसहित ८ कर्मचारी पक्राउ, परीक्षण गराउँदा कोरोना पोजेटिभ

admin

काठमाडौं, ८ बैशाख : कोरोना भाइरस कोभिड-१९ परिक्षणको अनुमती लिएको काठमाडौंको सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि.ले स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिने गरेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेपछि सो ल्याबको कुरा बाहिर आयो । डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले नक्कली पिसिआर रिपोर्ट बनाउने चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरिया ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्र बहादुर रायमाझी उर्फ प्रकाश र सप्तरी घर भएका प्रमोद कुमार यादव सहित ८ जना छन् । महोत्तरी घर भई गौशाला बस्ने प्रदिप कुमार गिरी, सिनामंगल बस्ने अमन कुमार यादव, विराटनगर घर भएका ब्रजेश पोखरेल, महोत्तरी घर भएका बादल छिरिङ मिङ र दोलखाका सरोज क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

एजेन्ट, ल्याब टेक्निसियन र चिकित्सक मिलेर प्रतिव्यक्ति ९ हजारमा उनीहरुले पिसिआर रिपोर्ट बेच्ने गरेको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । खापुङले भने-‘स्वाव नै संकलन नगरिकन लापरवाहीपूर्ण तरिकाले रिपोर्ट बनाउने गरेको देखियो, थप अनुसन्धान गर्दै छौं ।’ पक्राउ परेकाहरुलाई सक्राम रोग नियन्त्रण ऐन अनुसार कारवाही गर्ने प्रहरीको तयारी छ ।

झापा गौरादह घर भई पेप्सीकोला बस्ने चित्र बहादुर रायमाझीले सिनामंगलमा मेरिट मल्टि केयर नामक मेडिकल संचालन गरेका छन् । स्वाव संकलन गर्ने सो मेडिकलका संचालकले सुरियासँग मिलेर नक्कली पिसिआर रिपोर्ट बिक्री गर्ने गरेका थिए । सप्तरीको मध्यपुरा गाउँपालिका घर भएका ४४ वर्षीय डा. खेलानन्द शाहले नक्कली पिसिआर रिपोर्टमा हस्ताक्षर गर्ने गरेका थिए ।

सुरिया हेल्थ केयर प्रालिका संचालक हुन् डा. सिपी श्रीकुमार । उनी फरार छन् । वैदेशिक रोजगारमा जाने व्यक्तिको लागी उनीहरुले एक/दुई घण्टामै पिसिआर रिपोर्ट बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँगको समन्वयमा प्रहरीले सो ल्याब सिल गरेको छ ।

यस्तै काठमाडौंबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका थिए । भारतीय नागरिक तसलीम अहमदलाई प्रहरीले पक्राउ गरेर पुनः परीक्षण गरायो ।

पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेशनमा राखिएको छ । टेकु अस्पतालमा चिकित्सक डा. हेमन्त ओझासहितका चिकित्सकको टिमले उनको स्वाब लिएर पीसीआर जाँच गरेका हुन् । भारतीय नागरिक तसलीमले देखाएको रिपोर्ट दिने ल्यावबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन ।

प्रतिक्रिया