नक्कली बाबुछोराको नागरिकता रद्द

admin

जाजरकोट, साउन २९ : जिल्ला प्रशासन कार्यालयलाई झुक्याउँदै नक्कली बाबुछोरा बनेर लिएको नागरिकता रद्द भएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । मंगलबार अन्नपुर्ण पोष्ट दैनिकमा ‘नक्कली बाबुछोरा बनेर नागरिकता’ शीर्षक समाचार प्रकाशन भएपछि नागरिकता रद्द गरिएको हो। नलगाड–२ का चंखे पुनलाई नक्कली बाबु बनाई कमल पुनको नाममा नागरिकता बनाइएको थियो ।

नागरिकता ऐन र नियमावलीको दफा १२ बमोजिम झुटो विवरण पेश गरी कमलले लिएको नागरिकता रद्ध गरी कारवाहीका लागि प्रहरीलाई निर्देशन दिइएको छ। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नक्कली बाबुछोरा बनेर नागरिकता लिनेदिने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस बिषयमा अनुसन्धान भइरहेको प्रजिअ बस्नेतले बताए। प्रहरीले संलग्नलाई किर्ते, नक्कली जालसाँझीमा समेत मुद्धा चलाउने तयारी गरेको छ।

दाङबाट आफन्त खोज्दै जाजरकोट आएका कमलले आफ्नो थर समेत थाहा नभएको बताए। सानै उमेरमा बुवाको मृत्यु भएको र आमाले समेत दोस्रो विवाह गरेपछि उनी बेवारीसे अवस्थामा जाजरकोट आइपुगेको बयानमा बताएका हुन्। नलगाडका चंखेको घरमा केही बर्ष बसेका उनले नागरिकता भए केही ब्यवसाय गर्न सजिलो हुने भन्दै नक्कली बाबुछोरा बनेर नागरिकता लिएको स्वीकार गरे।

चंखे पुन र कौशिला पुनका एकमात्र सन्तान छोरीको बिहे भइसकेको छ। कमलले धर्मपुत्रको रुपमा घरमा बसेर बुढेसकालको साहारा बन्ने भन्दै चंखेलाई नक्कली बाबु बनाएका थिए। नलगाड–२ का वडाध्यक्ष राकुमार जैसीले चंखे पुनलाई बाबु बनाएर कमललाई नागरिक दिलाउन सिफारिस गरेका थिए।जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले १० महिनाअघि २०७५ असोज २६ गते कमललाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका थिए। कमललाई प्रहरी हिरासतमै राखेर केही दिन अनुसन्धान गरिने र अन्य संलग्नलाई आवश्यकताका आधारमा बयानमा बोलाउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया