नगरपालिकाले तोक्यो दक्षिणा

राष्ट्रिय समाचार समिति

चितवन, २१ साउन: माडी नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरसभाका निर्णय आज सार्वजनिक गर्दै नगर प्रमुख ठाकुर ढकालले समाजमा हुने भड्कीलोपनालाई नियन्त्रण गर्न सो निर्णय गरिएको बताउनुभयो ।

निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उहाँले जानकारी दिनुभयो । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुदाँ खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद् निम्तिएको भन्दै नगरपालिकाले विभेद् अन्त्यका लागि यो निर्णय गरेको ढकालले बताउनुभयो ।

यस्तै माडीवासीले वैवाहिक कार्य गर्दा घरैमा गर्नुपर्ने भएको छ । कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको प्रमुख ढकालले बताउनुभयो ।

उहाँका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । अहिले नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि आवास सञ्चालन गरिरहेको छ । वडा नं. ६ लक्ष्मीवासमा रहेको सो आवासमा ३७ जना बालबालिका आश्रित छन् ।

माडीमा तीन वटा पार्टीप्यालेस सञ्चालनमा रहेका छन् भने अन्य खुल्ने क्रममा छन् । नगरपालिकाका कार्यपालिका सदस्यहरुबाट तत्काल शुरुवात हुनेगरी दक्षिणा निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो । उहाँले एकै परिवारमा दुई वटा छोरी जन्मेका भए दुवै जनालाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने बताउनुभयो ।

छुवाछुत प्रथा हटाउन छुवाछुतविरुद्धको दिवसमा सहभोज आयोजना गर्ने कार्यपालिकाले निर्णय गरेको छ । यस्तै कार्यपालिका बैठकले वडा नम्वर ९ मा रहेको प्याउलीमा बाल शिक्षा केन्द्र स्थापना गर्ने र नगरपालिकाको भूगोल, जनसङ्ख्या, भू उपयोगको अवस्था एवं आर्थिक सामाजिक पक्ष समेटी नगरको वृत्तचित्र तयार गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया