नगर बसमा ‘महिला’ कन्डक्टर

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १६ असोज  : नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ। काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् ।

मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणा भन्नुहुन्छ, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् । महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ।”

उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ । तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो। प्रमुख राणाले भन्नुभयो, “अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो । उहाँहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिनुभयो ।

सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु तीन करोड ४५ लाख खर्च गरेको छ । रासस

प्रतिक्रिया