नदी फर्काएर उत्खनन् गर्दा बस्ती जोखिममा

मनिषा थापा

लम्की, २५ फागुन (रासस) : कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो ।

त्यस क्षेत्रमा बग्ने कर्णाली नदीको धारलाई परिवर्तन गरेर बस्तीतर्फ धकेलिएको छ । धार परिवर्तन गरेर ढुङ्गा, बालुवा उत्खननको काम भइरहेको छ । विगत १० दिनदेखि नियमित ढुङ्गा, बालुवा उत्खनन गर्ने काम भइरहेको स्थानीयवासीको भनाइ छ ।

“नदी हाम्रो बस्तीतिर फर्काएर जेसिबी प्रयोग गरेर ढुङ्गा, बालुवा निकाल्ने काम भइरहेको छ ।” स्थानीय झपट बुढाले भन्नुभयो, “वर्षौदेखि बाढी र कटानको जोखिममा परेका हामी यसरी ढुङ्गा, बालुवा निकाल्दा हाम्रो बस्ती यस वर्ष डुब्ने निश्चित छ ।”

ढुङ्गा, बालुवा निकाल्ने कामको स्थानीयवासीले विरोध गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । धार परिवर्तन गर्दा त्यस क्षेत्रमा भइरहेको तटबन्धको कामसमेत अवरुद्ध भएको छ । टीकापुर नगरपालिकाबाट ढुङ्गा, बालुवा निकासीको ठेक्का लिएका ठेकेदारले ढुङ्गा, बालुवा उत्खनन गरेको बताइएको छ ।

सो क्षेत्रमा ७० परिवार बस्दै आएका छन् भने त्यहाँ बाढीका कारण उखुखेती गर्ने गरिएको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले आफूले नदी बस्तीतिर फर्काइएको कुरा हिजो मात्रै जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका संयोजकसँग छलफल गरिरहेको छु, बस्ती जोखिम गर्ने गरी उत्खनन गर्न दिइन्न ।”

स्थानीयवासीले विरोध गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरले दुई जेसिबी नियन्त्रणमा लिए पनि एक दिनमै छाडेको छ । “हामीले नियन्त्रणमा लिएका थियौँ, नियमवितरीत हुने गरी उत्खनन नगर्ने शर्तमा कागज गरेर जेसिबी छाडेका हौँ”, प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भन्नुभयो, “स्थानीयवासीको विरोध आएपछि पक्राउ गर्ने काम गर्छौँ ।”

प्रतिक्रिया