नयाँ दिल्लीमा भीषण आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

मनिषा थापा

नयाँ दिल्ली (रासस/एएफपी) : भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएको थियो। समयमै आगो नियन्त्रणमा नआउँदा धेरैतिर फैलिएको बताइएको छ ।

‘घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई उद्धार गरेका छौँ, ‘नयाँ दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भने। ‘उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो, ‘उनले भने, ‘खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ।’

नयाँ दिल्लीका एकजना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। अग्नि नियन्त्रकले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।

उद्धारकर्ताले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् । उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । भारतका धेरै सहरमा रहेका कारखाना तथा साना उत्पादन केन्द्रहरु पुराना तथा साँघुरा गल्लीमा सञ्चालन गर्ने गरिएका छन् ।

प्रतिक्रिया