नरैनापुरमा लापार्वाहीले कोरोना सङ्क्रमण बढ्दो

राष्ट्रिय समाचार समिति

राँझा, १० जेठ : नरैनापुरमा स्थानीयवासीको लापर्वाहीले कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितलाई आइसोलेशन अस्पताल ल्याउनमा रोक लगाउँदा तथा क्वारेन्टिनमा अनावश्यक रुपमा हुलहुज्जत गर्दा समुदायस्तरमै कोरोना सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ ।

कोरोना भाइरससम्बन्धी समुदायस्तरमा गलत बुझाइ र पछिल्लो समयमा सङ्क्रमित आइसोलेशनमा बस्न अटेरी गर्दा सङ्क्रमणको जोखिम झन् बढ्दो छ ।

नरैनापुरका सङ्क्रमितको अटेरीका कारण उनीहरुलाई समयमै आइसोलेशनमा ल्याउन समस्या हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार पुष्टि भएका नरैनापुर ३ का सङ्क्रमितले आइसोलेशन कक्षमा आउन नमान्दा शुक्रबार राति १२ बजे १२ जनालाई लिइएको छ भने क्वारेन्टिनबाटै फरार एक जनालाई आज मात्रै फेला पारेर ल्याउन सकिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहँदा नरैनापुरका सङ्क्रमित र स्थानीयवासीले सहयोग नगरेको उहाँको भनाइ छ । नरैनापुरमा मात्रै शनिबार ८७ जना सङ्क्रमित पुगेका छन् ।


नरैनापुरका बासिन्दा तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव शिक्षा, स्वास्थ्य र सचेतनाको कमीका कारण नरैनापुरमा कोरोना सङ्क्रमण बढ्दै गएको बताउनुहुन्छ । बाँकेका प्रहरी उपरीक्षक वीरबहाद्र वलीले स्थानीयवासी र अन्य सरोकार पक्षले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक कठिन परिस्थिति आउने गरे पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताउनुभयो । बाँकेमा सङ्क्रमितको सङ्ख्या ११६ पुगेको छ ।

सङ्क्रमितलाई तीन ठाउँमा व्यवस्थापन
बाँकेमा एकैपटक ठूलो सङ्ख्यामा देखिएका कोरोना सङ्क्रमितलाई जिल्लाका तीन स्थानमा व्यवस्थापन गरिएको छ । संक्रमितलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा मात्र आइसोलेशन अस्पताल रहेकाले नेपालगञ्जको लायन्स डेण्टल अस्पताल र कोहलपुरको पिपरीस्थित कृषि विकास तालिम केन्द्रमा थप दुई आइसोलेशन केन्द्र तयार गरी सङ्क्रमितको व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि नरैनापुरमा फेला परेका आठ जनालाई दाङको बेलझुुण्डीस्थित आइसोलेशन अस्पतालमा राखिएको छ । बिरामी भएकालाई आइसोलेशन अस्पताल र बिरामी नभएकालाई आइसोलेशन केन्द्रमा राख्ने नीतिका साथ सङ्क्रमितलाई नेपालगञ्ज, कोहलपुर र खजुरामा स्थानान्तरण गरी व्यवस्थापन गरिएको फोकलपर्शन श्रेष्ठले जानकारी दिनुभयो ।

धेरै अट्ने आइसोलेशन अस्पताल नभएका कारण सङ्क्रमितलाई तीन ठाउँमा स्थानान्तरण गरी उपचार सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । स्थानान्तरणका क्रममा नरैनपुरमा र कोहलपुरमा स्थानीयवासीले विरोध गरेका कारण केही समय ढिलाइ भए पनि सङ्क्रमितलाई आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको र सबैको स्वास्थ्यावस्था सामान्य रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया