नागरिकताविहीनका छोराछोरीको जन्मदर्ता

कृष्ण रोकाया

फिदिम, २३ मङ्सिर : बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा जन्म दर्ताको प्रमाणपत्र बनाउन नसकी अध्ययनमा समस्या भोग्दै आएका यहाँस्थित एकै परिवारका चार बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

गरीबी, अशिक्षा र अज्ञानताका कारण नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका पाँचथरको हिलिहाङ गाँउपालिका–७ साम्मेवाका चन्द्रलाल बराइलीका चार छोराछोरी वर्सिना, करिश्मा, सन्तोष र दीपक बराइलीले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको समन्वयमा चारैजना बालबालिकालाई जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराइएको हो ।

बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा चारै बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र बनाउन सकेका थिएनन् । जन्मदर्ता नहुँदा चन्द्रलालकी जेठी छोरी वर्सिनाले चार वर्षदेखि कक्षा दोहो¥याउँदै आएकी थिइन ।

सरकारी निकाय, सङ्घ संस्था तथा स्थानीय अगुवाहरुले बाबुुआमाको नागरिकताको प्रमाणपत्र तथा छोराछोरीको जन्मदर्ताको प्रमाणपत्रका लागि पहल गर्नुभएको थियो । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीसहित जनप्रतिनिधि तथा प्रशासक वराइलीको घरैमा पुगेर परिवारको अवस्था बुझ्नुभएको थियो ।

विपन्न वराइली परिवारकी जेठी छोरी वर्सिना यस शैक्षिक सत्रमा स्थानीय रुद्र तामाङको घरमा बसेर सिद्धेश्वरी माध्यमिक विद्यालय हिलिहाङमा कक्षा–८ मा अध्ययन गर्दै आएकी छिन् । परीक्षा फारम भर्न जन्मदर्ताको प्रमाणपत्र चाहिएपछि विगतमा उनले पढाइ नै छोड्नुपरेको थियो ।

जन्मदर्ता नहुँदा वर्सिनाका जेठा भाइ सन्तोषले पढाइलाई निरन्तरता दिन सकेनन् । वर्सिनाकी बहिनी करिश्मा छिमेकीको सहयोगमा कक्षा ६ मा अध्ययनरत छिन् । उक्त परिवारलाई विभिन्न सहयोगी व्यक्ति, संस्था तथा निकायले करीब रु ५० हजार बराबरको राहत सामग्री प्रदान गरेका छन् । खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत आवश्यकीय सामग्री प्रदान गरिएको हो । रासस

प्रतिक्रिया