नासा मंगल ग्रहमा अक्सिजन बनाउन सफल

admin

एजेन्सी, १० बैशाख : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मंगल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मोक्सी यन्त्रले यसै हप्ता एक जना मानिसलाई १० मिनेटका लागि पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफल भएको हो । नासाले भविष्यमा मंगल ग्रहमा हुनसक्ने मानवसहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

मंगल ग्रहको हावामा ९६ प्रतिशत कार्बनडाइअक्साइड र शून्य दशमलव १३ प्रतिशत मात्रै अक्सिजन छ । मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बनडाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो । यो प्रविधिलाई विकास गरेर अक्सिजनलाई हाइड्रोजनसँग मिसाइ पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा छ ।

नासाले गएको बिहीबार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण पनि गरिसकेको छ । इन्जुन्यूटी हेलिकप्टर दोस्रो पटक उड्दा पाँच मिटर माथि उठेपछि, दुई मिटर हावामा सीधा अघि बढेर पुरानै ठाउँमा फर्केर अवतरण गरेको थियो । हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन् । यी दुवैलाई पर्सिभिअरन्स यानसँगै गएको फेब्रुअरीमा मङ्गल ग्रहमा लगिएको थियो ।

प्रतिक्रिया