निःशुल्क पार्किङस्थल बन्दै विश्वसम्पदा क्षेत्र, विश्व सम्पदा क्षेत्र खतरामा

admin

काठमाडौं, कात्तिक २६ : विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सर्वसाधारणका लागि पार्किङस्थल बन्नुका साथै सवारी आवागमनले कोलाहल बढेको । प्रत्येक साँझ ५ बजे कार्यालय समयपछि सवारी साधनको बाक्लो पार्किङ हुने गरेको छ भने वसन्तपुर वरपर आवागमन पनि बाक्लै हुने गरेको छ ।


काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र कार्यालयले यसअघि दरबार क्षेत्र परिसरमा सञ्चालित विभिन्न कार्यालय, पसल तथा रेस्टुराँ मालिक र सरकारी नम्बर प्लेटको गाडीलाई पार्किङको सुविधा उपलब्ध गराउँदै आएपछि समस्या अझ जटिल बनेको हो । सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको छ ।


उक्त सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएसँगै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयले पनि सरकारी मात्र नभई निजी तथा आफ्ना सवारी साधनलाई पार्किङ सुविधाका अतिरिक्त निर्विवाद रूपमा आवागमनको व्यवस्था हुनुपर्ने माग गरेका छन् । काठमाडौँ महानगरपालिका हनुमानढोका कार्यालयका निमित्त प्रमुख टिना बज्राचार्य वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको पार्किङ हटाउन नसकिएको स्वीकार्नुहुन्छ । कार्यालय समयमा नियन्त्रण भएकै छ तर साँझ समस्या हुन्छ उनले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रतिक्रिया