निम्तो बाँडिन्, बिहे हुन पाएन

admin

कञ्चनपुर, १० माघ : पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरूलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो ।

बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग ‘भागेर’ आएकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय (बाहुन–क्षत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेको थिएन । अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो ।

‘माघ १३ मा विवाहको तयारी थियो, हामीहरू सरसामान जुटाउनेदेखि निम्तो बाँड्ने काममा जुटेका थियौं,’ रमिताका ससुरा हरिसिंह टेरले फोनमा भने, ‘खबर सुनेपछि सबै भताभुंग भयो, कामधाम सबै छाडेर हामी महेन्द्रनगर आउँदै छौं ।’ उनी छोरा प्रकाश र परिवारका अन्य सदस्यसहित महेन्द्रनगर आइरहेका छन् । उनीहरू एक साताअघिसम्म महेन्द्रनगरमै थिए । बिहेकै तयारीका लागि बैतडी गएका हुन् ।

रमिता दिउँसो २ बजेतिर साथीहरूलाई कार्ड दिन्छु भन्दै डेराबाट निस्केकी थिइन् । नन्द पार्वती टेर र आमाजू देवकी भट्टले बजार नजान भनेका थिए । आधा घण्टामै महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेकी थिइन् ।

आधा घण्टापछि पार्वती र देवकीले फोन गर्दा उनको मोबाइल अफ थियो । ‘हामीले प्रहरीलाई पनि यस विषयमा खबर गरेका थियौं,’ पार्वतीले भनिन्, ‘ढिलो गरी दुर्घटनाबारे खबर पायौं, अस्पतालमा पुगेर हेर्दा रमिता नै रहिछन् ।’ रमिता क्याम्पसका साथीहरूलाई बिहेको कार्ड दिन गएकी थिइन् । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

‘हामी पनि भोलि पहाड जाने तयारीमा थियौं, त्यसकै लागि सामान जुटाइरहेको थिएँ,’ रमिताका दाजु महेश भट्टले भने, ‘अचानक यो खबर सुनेपछि मेरो त होस हवासै हराएको छ ।’ उनी महेन्द्रनगरमै बस चालकको काम गर्छन् । बहिनीको डेरा रहेको भीमदत्त नगरपालिका–१८ गोबरिया क्षेत्रमा उनको बसोबास थियो । बिहीबार साँझ महेश बहिनी रमिताकै कोठामा विवाहका लागि पहाड लैजाने समान मिलाउने काम गरिरहेका थिए । खरिद भएको र अपुग सामानको लिस्ट बनाइरहेका थिए । दुर्घटनाको खबर सुनेपछि उनी हतारहतार दौडेर महाकाली अस्पताल पुगे ।

टिपरको ठक्करबाट युवतीको मृत्युपछि महेन्द्रनगरको अवस्था तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमाथि ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट ठक्कर दिने र अर्को एक गरी दुई टिपरमा क्षति पुगेको छ ।

महेन्द्रनगरको भानु चोकमा अबेरसम्मै ढुंगामुढा प्रहार भइरहेको थियो । स्थानीयले भानु चोक नजिकै टायर बालेर प्रदर्शन गरिरहेका छन् । तनावग्रस्त बनेको अवस्था नियन्त्रण गर्न प्रहरीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार घटना हुँदा फरार भएका टिपर चालकलाई पनि नियन्त्रणमालिइएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया