निर्देशकको पहिलो रोजाइमा अच्युत

admin

काठमाडौँ, १४ कार्तिक : सामान्य मान्छेले भुइमा खुट्टा बजार्दा धुलो र पतकर उड्दैन । एकै मुक्काले कंक्रिट पनि भत्किदैन तर, फिल्ममा हिरोले हान्दा त्यस्तो देखिन्छ । हिड्दा धुलो उड्छ र चराहरु भुर्रर्र उड्छन् । बाँझो जमिनमा सल उडाउँदै नाँच्छन कलाकार तर पर्दामा हिमालको काख । छङछङ झरिरहेको झरना यतिमात्र होइन फिल्ममा दृश्यले नै पु¥याउँछ ‘स्वर्ग नर्क’ ।

यो सबै चमत्कार ‘भिज्युअल इफेक्ट’ हो । काल्पनिक दुनियामा दर्शकलाई पु¥याउन प्रविधिले दिएको एउटा अनुपम उपहार हो । जसको प्रयोग हलिउडमा दशकौँ अघिदेखि नै भइरहेको छ । बलिउडमा समेत ‘भिज्युअल इफेक्ट’को सहयोगमा चामत्कारिक फिल्म बनाउन लालायित देखिन्छन् । त्यो उपहारको प्रयोग गर्न नेपाली सिनेमेकर्स पनि पछि परेका छैनन् । नेपाली फिल्म प्राविधिज्ञले पनि दशकौँदेखि भिज्युअल इफेक्टको प्रयोग गर्दै आएका छन् । यस्तै प्रयोग गर्ने मध्ये एक हुन् अच्युत बजगाई ।

काठमाण्डौ मध्य बानेश्वरस्थित उनको अफिसमा भेट्दा उनी काम गरिरहेका थिए । उनी हिरोइनको इन्ट्रीसँगै इँटाहरु बुरुर खसेको दृश्य बनाउँदै थिए । अच्युत हाँस्दै सुनाउँछन्‘ निर्देशकहरु हिरोको इन्ट्री हुँदा यहाँनिर ईटा झार्नुस, यहाँनिर पतकर उडाउनुस्, यो बगरमा निलो गंगा देखाउनुस भन्छन् के गर्नु गर्नै प¥यो । काभ्रेका यी २४ वर्षीय युवा ५ वर्षदेखि यस्तै काम गर्दै आएका छन् । नेपाली फिल्म इन्डस्ट्रीमा उनी अब्बल भिज्युअल इफेक्ट आर्टिस्टका रुपमा चिनिन्छन् । उनको काम दृष्यहरुलाई अझ प्रभावकारी र सुन्दर बनाउनु हो । व्यवस्थापन विषयमा कम्प्युटर बिज्ञान लीएर १२ कक्षा उत्तीर्ण गरेका अच्युतलाई सुरुमा भिज्युअल आर्टिस्ट हुन्छु भन्ने लागेकै थिएन । ७ वर्षअघि काठमाण्डौ आउँदा उनीसँग केही ठोस सपना थिएन। एस. एल सी पास गरेर भविष्यको खोजीमा काडमाण्डौ छिरेका अच्युत साथीको लहैलहैमा भिडियो एनिमेसन सिक्न जमल पुगे । करिब ५०,००० तिरेर ६ महिना सिके, त्यस पछि अच्युतले इन्सेंसान रेन ( Incessant Rain Studios ) मा पनि क्लास लीए । त्यसले पनि उनलाई धीत मरेन । उल्टै प्यास जगायो । त्यसले उनलाई भिज्युअल इफेक्टमा नै करियर बन्छ कि भन्ने लाग्न थाल्यो ।

केही समय भिज्युअल इफेक्टमै काम गरिरहेका सिनियरसँग काम गरेपछि उनले पहिलो पटक रोमियो फिल्ममा भिज्युअल इफेक्ट मिलाउने काम पाए । त्यो उनको पहिलो क्षमता देखाउने काम बन्यो । त्यसमा अच्युतले आफ्नो खुबी देखाए । “त्यसपछि त काम धेरै नै पाइयो । भ्याइनभ्याइ छ अहिले” उनले सुनाए । उनी अहिले एउटा फिल्म बराबर राम्रै पैसा लिन्छन् । एउटा फिल्मको काम सकाउन उनलाई २० दिन देखि एक महिनासम्म लाग्छ । उनीसँगै केही साथीहरु पनि छन् ।

जय शम्भु छिरिङ्ग, कायर, रोमियो, मेला, पूनर्जन्म, वीरङ्गना, होलिडे, उल्झन, भिलेन, पटुकी, लभ डायरी, आरोपे, प्रेम लिला, ए मेरो हजुर ३, एक लभ्य लगायत थुप्रै फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया