नेकपामा तँ भन्न नपाइने, महिनामा एक दिन बनभोज अनिवार्य

admin

काठमाडौं, ७ माघ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता–कार्यकर्तालगायत सदस्यलाई सबैसँग मर्यादित, सरल र मिठासपूर्ण भाषा प्रयोग गर्दै अनुशासित, नैतिकवान् र जिम्मेवार बन्न निर्देशन दिएको छ । नेकपाले जारी गरेको आचारसंहितामा आफ्ना सदस्यलाई अनुशासन, जिम्मेवारीबोध र कर्तव्यबोधको पाठ सिकाइएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार जारी गरेको ११ बुँदे आचारसंहितामा पार्टीका नेता, कार्यकर्तासहित सबै सदस्यले अब शिष्ट भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गरी नमुना बन्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

आचारसंहिता उल्लंघन गर्नेको सदस्यता खारेज गर्ने चेतावनी पनि नेकपाले दिएको छ । यो निर्देशनसँगै नेकपा सदस्यले अब कसैलाई पनि हेप्न र होच्याउन पाउनेछैनन् । ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्छ । छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ अध्यक्षद्वय ओली र दाहालले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य रहेको उल्लेख गर्दै नेकपाले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । आचारसंहिताको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुनबमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णयबमोजिम कारबाही गरिने नेकपाले जनाएको छ ।

झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने आचारसंहिता पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरूको समाधानका लागि महŒवपूर्ण रहने नेकपाले जनाएको छ । पार्टीलाई गतिशील र अभिभारा वहन गर्न समर्थ तुल्याउन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सक्रिय रूपमा जुट्न केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलाई निर्देशन दिइएको छ ।

नेकपाले आफ्ना सदस्यलाई परिवारका सदस्यहरू सबैजना सँगै बसेर खाना खानुपर्ने आचारसंहिता बनाएको छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउन नपाइने र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्ने उल्लेख गर्दै नेकपाले चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्ने निर्देशन गरेको छ । यस्तै, घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्ने नेकपाले जनाएको छ ।

‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं । यसका लागि पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले यी आचारसंहिता पालन गर्न जरुरी छ,’ नेकपाले जारी गरेको निर्देशनमा भनिएको छ ।

नेकपाले प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गर्दै जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने जनाएको छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने जनाउँदै नेकपाले पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने आचारसंहिता बनाएको छ ।

‘बेलाबेलामा परिवारका सदस्य सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकतापूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्छ,’ नेकपाले जारी गरेको आचारसंहितामा उल्लेख छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यबीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अप्ठेरो काम आफूले लिनुपर्छ ।’

सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यको सहयोगमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ । आफूले काम गरिरहेको अवस्थामै सहयोग लिने गरी काममा लगाउनुपर्छ । खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्न नमिल्ने आचारसंहितामा उल्लेख छ ।

पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ । उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीलाई न्यूनतम रूपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्ने हुन्छ ।


समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरुद्ध सधैं खडा हुन निर्देशन गरिएको छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैं प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्कासन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउनुपर्छ ।

पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने जनाउँदै नेकपाले घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी बालबालिका हुर्काउनुपर्ने हुन्छ । पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ ।

महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने उल्लेख गर्दै नेकपाले यसबाट सामूहिक भावना सिर्जना हुने विश्वास लिएको छ । त्यस्ता कार्यक्रममा मद्यपान, धूमपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरञ्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महŒवका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्ने नेकपाले जनाएको छ ।

नेकपाले प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कुल, कलेज सबै ठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्ने निर्देशन गरेको छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ ।

समाजमा रहेका कुरीति, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उचनीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्न आचारसंहितामा निर्देशन दिइएको छ । यस किसिमका दुष्कर्मबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुनबमोजिम सजायको भागिदार बनाउन सहयोग गर्न भनिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया